ढाका – प्याजको मूल्य अत्याधिक मात्रामा वृद्धि भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्याज नखाने घोषणा गरेकी छन् ।
प्रधानमन्त्री वाजेदको डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदलाई उद्वृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हसिनाले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने समाचार सार्वजनिक गरेका छन् ।
एफपीले जनाएअनुसार आफ्नो देशमा उत्पादन नहुने आयातित प्याज प्रयोगमा जनतालाई पनि निरुत्साहित गर्ने सोच उनले राखेको समाचारमाध्यमहरुले जनाएका छन् ।
नेपाल मात्र नभई बंगलादेशमा पनि प्याजको भाऊ आकाशिएको छ । उसले भारतबाट खरिद गर्दै आएकोमा भारतले प्रतिबन्ध लगाएपछि तत्काल प्याजको भाऊ बढेर छोइनसक्नु भएको छ ।
बंगलादेशमा केही समयअघि ३० टका प्रतिकिलो रहेको प्याजको भाउ बढेर सोमबार २ सय ६० टका पुगेको जनाएका छन् । हसिना सरकारको अस्थिर अर्थनीतिका कारण तरकरीको भाउ आकाशिएको भन्दै विपक्षी दलले आन्दोलनको घोषणा नै गरेको छ । पछिल्लो समयमा बंगलादेशले म्यान्मारबाट प्याज आयत गरिरहेको छ ।
मागको तुलनामा निकै कम मात्रामा प्याज आपूर्ति भएपछि भाउ ह्वात्तै बढेको छ । उपभोक्तालाई क्षणिक राहत दिन सरकारले ४५ टका प्रतिकिलोमा प्याज बिक्री सुरु गरेको बंगलादेशी समाचार एजेन्सीहरुले लेखेका छन् ।
भारतले असोज १२ गते आफ्नो मुलुकबाट सबै प्रकारको प्याज निर्यात रोकेको थियो । भारतले निर्यात रोकेपछि यसको असर नेपालमा परेको छ । नेपाली बजारमा प्याजको आन्तरिक उत्पादन निकै कमजोर रहेका कारण बजार भाउ सुकेको प्याजको थोकमा मूल्य १६० रुपैयाँ र खुद्रा मूल्य भने औसत १८० रुपैयाँ तोकिएको छ ।
खुद्रा पसलेहरुले अहिले प्रतिकेजी २ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।