बूढीगण्डकीका लागि २९ अर्ब माग

0

काठमाडौँ, २७ असार । ऊर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना सञ्चालनका लागि अर्थ मन्त्रालयले तत्काल रु २९ अर्ब निकासा दिनुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना बढाउने सन्दर्भमा अर्थ मन्त्रालयले निकासा दिन ढिलाइ गरिरहेको गुनासो गर्दै सो विषयमा अर्थमन्त्री डा रामशरण महतसँग आजै कुराकानी गर्ने जानकारी दिनुभयो ।
गोरखा तथा धादिङका जनप्रतिनिधिसहित सरोकार भएकाले आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित प्रधानमन्त्री सुशील कोइरालासमक्ष ज्ञापनपत्र दिएको भोलिपल्ट आज ऊर्जा मन्त्रालयमा आयोजित सरोकारवालासहितको छलफलमा उर्जा मन्त्री ज्ञवालीले सो जानकारी दिनुभएको हो । प्रधानमन्त्री कोइरालाले पनि आयोजना जसरी पनि अघि बढाउन आफूलाई ध्यानाकर्षण गराउनुभएको सन्दर्भ उल्लेख गर्दै मन्त्री ज्ञवालीले आयोजना विकास समितिले भूकम्पबाट प्रभावित आरुघाटवासीलाई क्षतिपूर्ति दिनेसहित रु ५८ अर्ब लाग्ने भए पनि हाललाई त्यसको पचास प्रतिशत रकम अत्यावश्यक भएको र बाँकी रकम आसन्न बजेटमा उल्लेख हुनुपर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री ज्ञवालीले भन्नुभयो, “आयोजना अघि बढाउने विषय सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ । मन्त्रालय यसका लागि प्रतिबद्ध पनि छ । अर्थ मन्त्रालयले चटनी दिएजस्तो थोरै रकममा भुलाउँनु भएन । त्यसमा सरोकार समितिको सहयोग आवश्यक छ ।” मन्त्रालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीले प्रधानमन्त्री तहबाट आयोजनामा चासो दिइएकाले रकममा अभाव नहुने विश्वास व्यक्त गर्दै आयोजना कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय उदासिन रहेको भन्ने बुझाइ गलत भएको स्पष्ट पार्नु भयो ।
छलफलमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आउँदो आवका लागि सरकारको नीति तथा कार्यक्रममा परिसकेको सो आयोजना निर्माणका लागि जग्गा अधिग्रहणलगायत कार्यक्रम यसै वर्ष आरम्भ गर्न आग्रह गर्नुभयो । नेकपा (एमाले)का नेता राजेन्द्र पाण्डेले बूढीगण्डकीमा पुनर्वासका साथै भूकम्पले तहसनहस भएका बस्ती, ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थल, विद्यालय स्वास्थ्यचौकी र सरकारी भवन तथा खानेपानी सडक र सिँचाइजस्ता पूर्वाधारको पुनः निर्माणका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सरोकार समितिका अध्यक्ष दिनेशकुमार ढकालले आवश्यक बजेट निकासाका लागि आफूहरुले अर्थमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.