काठमाण्डौं – काठमाण्डौंका विभिन्न ठाउँमा लुकिछिपी जुवातास खलिरहेको अवस्थामा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौं महानगरपालिका–४ पञ्चकन्या डेरा गरी बस्ने लमजुङ घर भएका ४६ वर्षीय काशी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ५ जनालाई मंगलबार दिउँसो खालबाटै प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद २१ हजार ३ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरिएको छ ।
त्यस्तै काठमाण्डौं महानगरपालिका–३ बाँसबारी लोसार पिपलबोट डेरा गरी बस्ने ललितपुर महानगरपालिका– घर भएका ४६ वर्षीय विनय थापामगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापामगरसहित ७ जनालाई प्रहरीले हिजो मंगलबार पक्राउ गरेको छ ।
उनीहरुको साथबाट ४ बुक तास र नगद ३८ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाण्डौं नागार्जुन नगरपालिका–३ हलचोकस्थित हरिमायाँ पुतवारको घरमा जुवा खेलिरहेका काठमाण्डौं सितापाईला बस्ने सचित दुवाल लगायत १० जनालाई कौडा र नगद ३ लाख ६० हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस्तै काठमाण्डौं कीर्तिपुर नगरपालिका–६ चोभारस्थित विजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा चोभार बस्ने विजय श्रेष्ठ लगायत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कौडा, नगद २ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ र एनआइसि एसिया ैंकको २ लाख २५ हजार रुपैयाँ र प्राईम वैंकको २ लाख रुपैयाँको चेक सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ छ ।
उता महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी पण्डित गाउँस्थित राधे थापाको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय किशोर थापा लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई कौडा र नगद २ लाख १५ हजार १ सय ७५ रुपैयाँसहित पक्राउ गरिएको र यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।