सीमावासीकाे आक्रोशः सरकार मौन बस्दा आफ्नै भूमिमा भारतीय जीवन जिउन विवश भयाैं
धनगढी – कुनैबेला पूर्वमा टिस्टादेखि पश्चिममा काँकडासम्म फैलिएको नेपाली भूमि अहिले मेचि र महकालीमा सीमित बनेको छ । त्यहि भूमि पनि वर्षेनि खुम्चिँदै गइरहेको छ । दक्षिणी छिमेकी राष्ट्र भारतले थोरथोरै गर्दै धेरै क्षेत्रमा नेपाली भूमि मिचिसकेको छ । ऊ अझै मिच्ने र नेपाली भूमिमा आफ्नो सुरक्षा दस्ता राख्ने काम गरिनै राखेको छ ।
नेपालको लिपुलेक र कालापानी क्षेत्रमा फौजी क्याम्पसहित भारतले कब्जा जमाएको धेरै समय भएको छैन । तर योपटक उसले लिपुलेक र कालापानीलाई आफ्नो राजनैतिक नक्सामा समावेश पनि गरेर दादागिरी प्रदर्शन गरेको छ । यसैविरुद्ध स्वाभिमानी नेपाली भारतसँग आक्रोसित भएका छन् ।
दशकौंदेखि विशेषगरी सीमा क्षेत्रका नेपालीले भारतीय पक्षबाट हेपिदै र ज्यादातिको शिनकार बन्दै आउनु परेको सीमा क्षेत्रका बासिन्दाहरुको दर्द छ । सीमामा बस्नेहरुमाथि भारतले थोपरिहेको अत्याचारबारे कञ्चनपुर पुनरवास–२ का लालबहादुर एसकेले भने ‘सीमा क्षेत्रका नेपाली बासिन्दा र उसको भूमिमा गर्ने भारतीय कब्जाबाट साह्रै पीडित छन् ।’
उनले विगतको कुरा सम्झिँदै भने ‘आफ्नै भूमि रक्षा र अधिकारका लागि लड्दा सहिद पाएको ठाउँ कञ्चनपुरको पुनरवास हो । आफ्नो माटो रक्षा गर्न धेरैले ज्यान गुमाए, अंगभंग भए । तैपनि पुनरवासमा सरकारको ध्यान शुन्य छ ।’ लिपुलेक र कालापानी मात्रै होइन्, भारतसँग सीमाना जोडिएका प्रत्येक ठाउँका सम्पूर्ण बासिन्दा भारतीय अत्याचार र अन्यायमा रहेका उनले बताए । स्वतन्त्र र सावैभौम छन भन्ने अनुभूत सीमावासीलाई कहिल्यै गर्न पाएका छैनन् ।
चाडपर्वका बेला होस् या कामका लागि भारत गएका बेला, सीमाजिकका नेपाली महिलाहरुमाथि भारतीय सुरक्षाकर्मी र नागरिकबाट दुब्र्यवहार खेप्न परिरहेको पीडा चानचुने विषयका छ्रैनन् । उनीहरु समस्यालाई दीर्घकालीन समाधान गर्न सरकारले पहल गर्न सकेकोमा थप दुःखी छन् ।
सीमा क्षेत्रका नागरिक र भूमि भारतीय पक्षबाट हरक्षण खतरामा रहेको कञ्चनपुर बेल्डाडी गाउँपालिकाका राजेन्द्र बिष्ट बताउँछन् । ‘लिपुलेक र कालापानीका नेपाली नागरिकलाई भारतीय सरकारले आफ्नै नागरिकता र रासनकार्ड वितरण गरिसक्दासमेत सरकारले ठोस कदम चालेको छैन’ विष्टले भने, ‘नेपालीहरु आफ्नै भूमिमा बसेर पनि त्रासले भारतीयको गुणगान गाउन बाध्य छन् । नेपालीको सन्तानका लागि योभन्दा पीडादायी विषय अरु के हुनसक्छ ?’
त्यस्तै बेलौरी नगरपालिका–५ का लालबहादुर चौधरीलाई बारम्बार भारतले सीमा मिचिरहँदा सरकारले मौन बस्दा देखेर गहिरो पीडा परेको छ । नेपाल–भारतको सीमानामा दुई देशका नापीको टोली राखेर काँडेतार वा पर्खाल लगाउनुपर्ने उनको धारणा छ । स्थायी छेकबार नलगाए भारतले नेपाली भूमि मिचेर ज्यादाति फैलाएर भित्रैसम्म आउने र कब्जा गर्ने निश्चित उनी देख्छन् । आवतजावत गर्न खासखास ठाउँमा नाका तोकेर बाँकी क्षेत्रमा स्थायी छेकबार लगाए मात्र नेपाली र नेपाली भूमिको रक्षा हुने सीमाका बासिन्दाको राय छ ।
सबै नाका बन्द गरेर निश्चित नाकाबाट पासपोर्टको माध्यमबाट आवतजावत गर्नुपर्ने आवश्यकता देखिएको छ’ चौधरीले भने, ‘सीमा विवादको दीगो समाधान खोजिएन भने एकदिन भारतले गम्भीर घात गर्नेछ ।’ साँझ सुत्दा नेपाली, बिहान उठ्दा भारतीय हुनुपर्ने नियति तराई क्षेत्रका सीमावासीको सामान्य होइन ।
राष्ट्रियताको कुरामा सरकार मौन बस्नु निकै दुःखद् भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य बिनय शाहको धारणा छ । सीमा क्षेत्रमा नेपाली सैनिक राख्नु विकल्व नरहेको उनको भनाई छ ।
‘आफ्ना वरिपरि सेना परिचालन गर्ने नेताहरुले नागरिक र भूभाग जोगाउन सीमा क्षेत्रमा नेपाली सेना परिचालन नगर्नुले सरकारको खोक्रो राष्ट्रवाद छर्लङ भएको छ’ उनले भने, ‘भारतसँग उच्चस्तमा वार्ता गरेर हुन्छ कि अन्तरराष्ट्रिय अदालत गएर हुन्छ भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउर्नै पर्छ ।’
युवा संघको टोली देशको सीमांकन प्रमाण जुटाउन लागिरहेको उनले बताए । प्रमाण जुटिसकेपछि शान्तिपूर्ण कदम चाल्ने नभए खोसेरै भएपनि नेपाली भूमि फिर्ता ल्याउन युवा तयार रहेको उनले बताए । ‘हामीसँग पहिले लिपुलेक र कालापानीमा बसेका नेपालीको जनगणना गर्ने ब्यक्ति हुनुहुन्छ, नेपालको राष्ट्रिय अभिलेखालयमा पनि नेपालको नक्सा छ, जसको वास्तविक कपी ब्रिटिसको एउटा संग्रहालयमा छ । प्रमाण हाम्रै पक्षमा भएपछि भूमि पनि फिर्ता गर्नु भारतको बाध्यता हुनेछ’ उनले भने ।
कञ्चनपुरको बेलौरी बेल्डाडीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका कुलवीर चौधरी सीमा नजिकका नेपालीको पीडासँग निकै परिचित छन् । सीमा विवादका कारण नेपाली भूमि खुम्च्दिै गैरहेको भन्दै अब सरकारले नेपाली भूमि जोगाउन दीर्घकालिन बाटो निकाल्न सक्नुपर्ने दायित्व सरकारको काँधमा रहेको उनको विचार छ ।
साँझ सुत्दा नेपाली, बिहान उठ्दा भारतीय हुनुपर्ने नियति तराई क्षेत्रका सीमावासीको सामान्य होइन । भारतीय सीमा सुरक्षा बलले रातारात सीमा स्तम्भ नेपालतर्फ सार्ने क्रम विगतदेखि नै जारी रहेको सीमाका वासिन्दाहरुले बताएका छन् । भारतसँगको सीमानामा भारतले ७३ स्थानमा सीमा मिचेको तथ्यांकसँग छ ।
पटकपटक दुई देशका प्रमुखबीच सीमा विवाद समाधानका लागि छलफल भएपनि निकास हुन नसक्नु अकर्मण्यता बाहेक केही नरहेको उनको भनाई छ । सीमा समस्या समाधानबारे भएको जेति सहमति छन्, ती सबै कार्यान्वयन हुनपर्ने प्रदेशसभा सदस्य चुन कुमारी चौधरी बताउँछिन् ।
‘सीमाको विवाद आउँदा २ देशबिच सम्झौता हुन्छ । नेपाल सरकार मौन बस्छ । भारत फेरि सीमा मिच्दै जान्छ’ चौधरीले भनिन् ‘सीमा क्षेत्रका नेपालीले भारतीय नागरिक र सुरक्षाकर्मीको सास्ती त खेपिरहेका छन् अझ आफ्नै भूमिमा पनि विदेशी जीवन निर्वाह गर्न बाध्य छन् ।’ सीमा विवादको पहिलो समाधानका लागि सरकारले कुटनैतिक पहल गर्नुपर्ने उनको मत छ ।
सीमा मिच्ने हर्कत कुनै हिसाबले स्वीकार्य नहुने उनले बताइन् । नेपालीहरु आफ्नो भूमि जोगाउन ज्यान दाउमा राखेरपनि अघि बढ्ने बताउँदै भारतीय सरकारलाई अतिक्रमण रोकेर आफ्नो ठाउँमा फिर्ता हुन उनले आग्रह गरिन् ।
‘हामी लामो समयदेखि मौन बस्यौं, यसको अर्थ यो होइन कि हामी निरीह छौं, प्रतिरोध गर्न सक्दैनौंं’ उनले भारतीय शासक वर्गलाई भनिन् ‘नेपाली आफ्नो माटो जोगाउन अघि सरेको बेला भारतलाई निकै गाह्रो पर्ला ।’