शिवमायाको घुर्कीले सभामुखको कुर्सी प्राप्त गर्ने संभावना कति ?

काठमाण्डौं – उपसभामुख शिवमाया तुम्बाहाङफेले आफूले सभामुख पद पाउनुपर्ने घुर्की तेस्र्याएकी छन् । तत्कालीन सभामुख संसद सचिवालयमा कार्यरत एक महिला कर्मलाई बलात्कार प्रयास गरेको मुद्दामा पुर्पक्षका लागि जेल परेपछि उक्त पद खाली छ ।
खाली भएदेखि नै आफैंले सभामुख पाउनु पर्ने तर्क शिवमायाले बारम्बार दोहोर्याइरहेकी छन् । आफू आवद्ध पार्टी सत्तारुढ नेकपा अध्यक्षहरुसम्म पुग्ने गरी कुरा राखिसकेको उनको जिकिर छ ।
दाबी अनुसारै उनले सभामुख कृष्णबहादुर महरा जेल परेपछि केही संसदबाट पारित भएर रहेको केही विधयेकलाई प्रमाणिकरण गर्ने काम समेत गरिन् । जुन अधिकारा उपसभामुखलाई नरहेको भन्दै सांसदबाटै विरोध समेत भइरहेका छन् । संसद पनि बन्द छ अहिले । पार्टीले उनलाई उपसभामुख पदबाट राजीनामा दिन समेत अघोषित निर्देशन दिएको स्रोतले बतायो ।
बलात्कार प्रयास अर्थात जबर्जस्ती करिणी उद्योग अभियोग लागेपछि महराले दिएको राजीनामा शिवमायाले नै स्वीकृत गरेकी थिइन् । सभामुखले उपसभामुख मार्फत राजीनामा दिने व्यवस्थाको आधारमा राजीनामा दिएको र स्वीकृत गरिएको थियो । स्वीकृतपछि सभामुख पद खाली छ ।
तर पछिल्लो समयमा उनले सभामुख पद आफू पाउने पक्का नभएसम्म पदबाट राजीनामा नदिने अडान दोहोर्याएकी छन् । सभामुख पद आपूर्ति छिट्टै गर्नुपर्ने र त्यसपछि विधयेकहरु प्रमाणिकरण गरेर अनुमोदनका लागि राष्ट्रपतिकोमा पठाउनुपर्ने बाध्यतामा सरकार परेको छ । त्यसनिम्ति साविकको भन्दा अगाडि नै दिउँदे अधिवेशन बोलाउने तयारीमा सरकार छ ।
त्यसअघि नै शिवमायाको राजीनामा बुझ्ने र सभामुखका लागि पार्टीले उम्मेद्वार तय गर्ने सरकारको अर्को तयारी रहेको स्रोत बताउँछ । संविधानले सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था गरेको छ ।
यसअघिका सभामुख महरा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट र शिवमाया तत्कालीन नेकपा (एमाले)बाट उपसभामुखको भागबण्डामा परेका थिए । तर दुवै पार्टीबीच एकता भएर नेकपा बनेपछि सभामुख र उपसभामुखमध्ये एक छाड्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले सत्तारुढ नेकपालाई दबाब दिँदै आएको छ । तर नेकपाले टेरेरनन् ।
नटेरेपछि सोही विषयलाई लिएर सर्वोच्च अदालतमा समेत रिट पर्यो । रिटको टुंगो लागिसकेको छैन । संविधानले गरेको व्यवस्था अनुसार सत्तारुढ नेकपाले सभामुख वा उपसभामुख मध्ये एउटा मात्र पाउनेछ । त्यसमा उसले सभामुखबाहेक दोस्रो पदबारे सोच्दासमेत नसोचेको पार्टीका नेताहरुले बताइरहेका छन् ।
तर नेकपाका महरा प्रकरणबाट खाली भएको पदमा शिवमायाले आफू जान पाउनुपर्ने दाबी गर्न अझै नछाडेपछि अहिले सत्तारुढ नेकपाका नेतृत्वमा ठूलो तनाव परेको बताइन्छ । शिवमायाले सहज रुपमा राजीनामा दिएर पार्टीलाई सजिलो बनाउँदा राम्रै हुने सन्देश पार्टी दिएको र तर सन्देशप्रति उनी ‘कन्भिन्स’ नभएको स्रोतको भनाई छ । सभामुख पद ‘कन्फर्म’ नहुँदासम्म आफूले राजीनामा नदिने उनको अडान कायमै रहेको स्रोतले बतायो ।
सूत्रका अनुसार सभामुख जसरी पनि पार्टीले लिने र त्यसका लागि शिवमायाबाहेकका पात्र पठाउने पार्टी नेतृत्वको योजना रहेको छ । त्यसमा शिवमाया बाधक बनेमा विधि पुर्याएर हटाउनेबारेसम्म पार्टीमा छलफल भइरहेको बताइन्छ । यससँगै शिवमायाको घुर्कीबाट उनलाई सभामुखको कुर्सी प्राप्त होला त ? भन्ने चर्चा शुरु भएको छ ।