
काठमाण्डौं – यसअघि भएको सहमति उल्लंघन गरेको बताउँदै आन्दोलनरत विद्यार्थीले चितवनको भरतपुरस्थित संचालित चितवन मेडिकल कलेज (सिएमसी)मा तालाबन्दी गरेका छन् ।
विद्यार्थीसँग लिएको अवैध शुल्क फिर्ता वा समायोजन गर्ने सहमति कलेजले उल्लंघन गरेकपछि विद्यार्थीले सहमति कार्यान्वयन गराउन दबाबस्वरुप कलेजको कैलाशनगरमा रहेको शिक्षण युनिटमा अाइतबार तालाबन्दी गरेका हुन् ।
सहमति अक्षरसः कार्यान्वयन नभएसम्म तालाबन्दी जारी रहने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताएका छन् । चिकित्सा शिक्षामा माफिया र दलालीकरण गराएर चरम शुल्क तिर्न विद्यार्थीलाई विवश बनाएको भन्दै सर्वशुलभ रुपमा शिक्षा अध्ययनको व्यवस्था गराउनुपर्ने माग गर्दै भदौ ५ गतेदेखि संघर्ष समितिले देशैभरका विभिन्न मेडिकल कलेजहरुमा आन्दोलित रहेको छ ।
चितवन मेडिकल कलेजले गएको असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा सरकारी प्रतिनिधि, संघर्षरत विद्यार्थी र अभिभावकबीच अवैध रुपमा लिएको शुल्क कार्तिक १८ गतेभित्र फिर्ता गर्ने र समायोजन चाहनेको समायोज गर्ने सहमति गरेको थियो ।
तर अहिलेसम्म कलेज प्रशासनले अटेर गर्दै आएपछि विद्यार्थी र अभिभावक आन्दोलित बनेका छन् । अवैध शुल्कबारे अध्ययन गर्न चार पक्षीय प्रतिनिधि रहेको अध्ययन समिति समेत गठन गरेकोमा समितिलाई कलेजले पूर्ण असहयोग गरेर दादागिरी देखाएका कारण प्रतिवेदन समेत तयार पार्न सकेका छैनन् ।
एमबीबीएस र डिडिएसका विद्यार्थीबाट कलेज जनही ६ देखि २० लाख रुपैयाँसम्म अवैध शीर्षकमा शुल्क असुलेकाे पाइएकाे छ ।