काठमाण्डौं – मन्त्रिपुनर्गठनको मूल एजेन्डासहित नेकपाको सचिवालय बैठक सुरु भएको छ । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीका लागि नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहलबीच एक चरणको सहमति भइसके पनि अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग भने कुनै छलफल नभएको स्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् हेरफेरमै आजको सचिवालय बैठक केन्द्रित हुने बताइएको छ ।

प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार ओली दाहालबीच एकसरो सहमति भइसकेको अवस्था छ । सायद आजको सचिवालय बैठकको निर्णयबाटै मन्त्रिपरिषद् पुनर्गठनको बाटो खुल्नेछ । अझ प्रधानमन्त्रीकै चाहना अनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिइसकेका छन् । स्रोतका अनुसार मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी छ ।

मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरे पनि अपेक्षित परिणाम नआएपछि प्रधानमन्त्री असन्तुष्ट थिए । केही समयअघि भएको समीक्षामा कामै नभएको भन्दै ओलीले मन्त्रीहरुसँग असन्तुष्टि जनाएका थिए । नेकपा अध्यक्षसमेत रहेका ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न पार्टीभित्रैबाट पनि दबाब थियो  ।

मन्त्रीहरू फेर्ने कुरामा अर्का अध्यक्ष दाहालको पूर्ण सहमति छ  । स्रोतका अनुसार हिजोको भेटमा दुई अध्यक्षबीच कुन–कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्नेबारे प्रारम्भिक छलफल भएको छ । जसमा सहमति पनि जुटिसकेको बताइएको छ । आजको सचिवालय बैठकमा दुई अध्यक्षहरुले नाम सार्वजनिक गरी निर्णयसमेत हुनसक्ने बताइन्छ ।

आजको बैठकले गृहमन्त्री रामबहादुर थापाबादल अर्थमन्त्री डा. युवराज खतिवडा यातायात मन्त्री रघुवीर महासेठ, आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र संचार मन्त्री गोकुल बास्कोटाको पनि रेडजोनमा परेको नेकपाका एक नेताले जानकारी दिए ।