काठमाण्डौं – दक्षिणी छिमेकी भारतले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र मिचेको विरोधमा सशक्त आन्दोलन चलाइरहेको बेला शुक्रबार बाजुराको गौमुल गाउँपालिका–३ माझपालीबाट गिरफ्तर विप्लव नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’सहित १६ जनालाई सरकारले हातहतियार तथा खरखजना र विष्फोटक पदार्थसम्बन्धी कसुर अभियोगमा मुद्दा चलाउन तयारी भइरहेको बुझिएको छ ।

५२ वर्षीय आदर्श रोल्पा गंगादेब गाउँपालिका–३ जिनावाङका हुन् । उनी यसअघि दाङबाट गिरफ्तार भई दुई महिनाभन्दा हिरासतमा बसेर सर्वोच्च अदालतको आदेशमा गएकाे असार २३ मा सुनसरीबाट मात्र रिहा भएका थिए । बाजुरा प्रहरी हिरासतमा रहेका उनीहरुमाथि हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ कसुरमा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ ।

आदर्शसँगै १६ जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । निजहरुबाट पेस्तोल तथा विभिन्न विष्फोटक पदार्थहरु बरामद गरिएको प्रहरीको दाबी छ । आइतबार दिएको जानकारी अनुसार गिफ्तार परेकाहरुबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ३ राउण्ड, फलामको खाली सकेट १ थान, बारुद २ किलो २ सय ग्राम, प्रेशरकुकर बम १ थान, ईलोक्ट्रनिक कमर्सियल डेटोनेटर ८ थान, बिजुलीको तार, मैनबत्ती, पिलास, टेप र कैंची तथा सैन्य तालिमसम्बन्धी कागजात प्रहरीले फेला पारी बरामद भएकाे दाबी छ ।

पार्टीका महासचिव विप्लवले गत बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर भारतद्वारा लिपुलेक अतिक्रमणको विरोधमा भारतको नयाँ नक्सा र प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लाा जलाउने सहित एक हप्ते संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

सोही अनुरुप शुक्रबार पार्टीको योजनामा देशैभर अतिक्रमणविरुद्ध गरिएको कोणसभाबाट नेता आदर्शसहित १६ जनालाई गिरफ्तार गरिएको थियो । भारतीय हस्तक्षेपविरुद्ध अहिले देशैभर राजनीतिक पार्टी, विद्यार्थी संगठन, नागरिक समाज, सरोकारवाला सम्पूर्ण आन्दोलित छन् ।

यता लिपुलेक अतिक्रमणविरुद्ध आधा दशकदेखि निरन्तर संघर्षरत विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरुद्ध सरकार असहिष्णु बन्दै गएको पाइएपछि सरकारको सर्वत्र आलोचनाको ताराे बनेको छ ।