काठमाण्डौं – नेपाली भूमि लिपुलेक छिमेकी भारतले अतिक्रमणमा गर्दा छिमेकी मुलुक चीनले आफ्नो धारणा बाहिर नल्याउनु गम्भीर आशंका उत्पन्न भएको बताएका छन् ।

भारतले हालै मात्र बाहिर ल्याएको आफ्नो नयाँ नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पयाधुरा र कालापानी क्षेत्रलाई समेटेर अतिक्रमण गरेको अवस्थामा पनि चीनियाँ नेतृत्व मौन बस्नु गम्भीर साँठगाँठको शंका उब्जिएको सरोकारवालाहरुले बताएका छन् ।

राजधानीमा आयोजित एक साक्षत्कार कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वजर्नेल प्रेक सिंह बस्न्यातले नेपालको भूमि मिचेर भारतले गम्भीर हस्तक्षेप गरेको बेला चिनियाँ राष्ट्रपति सि जिन पिङ चुँइक्क नबोल्नु रहस्यमय भएको बताए । राष्ट्रपति सि जिन पिङबाट भारत भ्रमण भएकाे केही दिनमै भारतले नेपालकाे भूमि मिचेर नयाँ नक्सा ल्याउनु संयाेगमा मान्न नहुने बताउँदै याेजनावद्ध हुन सक्ने बताए ।

नेपाली भूमि कालापानी भारतले राजा महेन्द्रको पालामा विभिन्न बहानामा भारतीय सैन्य फौज राख्दा मोओ–त्सेतुङले बोलेपछि भारत त्यहाँबाट कुलेलम ठोकेको पछि फेरि आएर बस्ने थालेको उनको भनाई छ । राजाका पालासम्म सीमा जाँच गर्न नापी विभागको साथ लागेर सीमामा सैनिक जाने गरेको तर दलहरु हाबी भएपछि त्यो हराउँदै गएपछि भारत र चाइनाले नेपाली सीमा अतिक्रण गर्न थालेको उनले बताए ।

सन् २०१५ मै बेइजिङमा चीन र भारतले नेपाली भूमि लिपुलेकलाई दुईदेशको ‘ट्रेड ट्रान्जिट’ अर्थात व्यापारक नाका बनाउने भनी सम्झौत गरेर भारतले मात्र नभई चाइनाले पनि नेपालको भूमिमाथि रजाई गर्न खोजेको प्रष्ट देखाइसकेको बताउँदै त्यतिबेला नेपाल सरकार चुप बस्नुले नै हस्तक्षेपकारीको मनोवल बढेको बताए । नेपाललाई नसोधिकनै चाइनाले भारतसँग लिपुलेकमाथि सम्झौता गरेर गल्ती गरेको उनको भनाई थियो ।

भनाई राख्ने क्रममा बस्न्यातले नेपाली नापी विभागले भारत र चाइनाको पैसा खान थालेपछि नै नेपाली सीमा क्षेत्र अलपत्र परेको र छिमेकीले मिच्ने काम गरेको बताए । कुनैपनि देशको नक्सा त्यो देशको सेनाको मुख्यालायमा राख्ने गरिएको, त्यो काम भारतले पनि गरिरहेको स्मरण गराउँदै उनले भने, ‘हाम्रो देशको सक्कली नक्सा कसकसले राखेको छ ? बताउन सक्छ् ?’

उनले केही हप्ता अगाडि भारत हुँदै नेपाल भ्रमण गरेका चीनियाँ राष्ट्रपति सीले भारतसँग केही गडबडी गरेर आएको हुन सक्ने र सोही कारण लिपुलेक मिचेको विषयमा प्रदर्शन हुँदँ समेत चीनले मौनता साँधेको बताए । यसबारे नेपाल सरकार पनि मौन बस्नु आश्चर्य भएको र अब मिडियाले सीलाई लिपुलेकबार सोध्नेबेला आएको बताए । सी विचारधारा बोक्ने दलहरुले यो कुरा चाइनासँग छलफल गरेर छिट्टै अतिक्रमित भूमि भारतबाट मुक्त गर्नुपर्ने बताए ।

विगतमा मन्त्री, प्रधानमन्त्री पदका लागि महाकाली सन्धि गरेर भारतसँग फसेको बताउँदै द्वारिका र सोल्टी होटेलमा गएर दलहरुले भारतीय नेताको खुट्टा ढोकेर देशको माटोमाथि खेलवाड गरेको बस्न्यातले बताए । भारतले यहाँ नेताहरुलाई मतलब नराखेको सरकार र दलहरुले विज्ञप्ति निकालेर मात्र केही नहुने बताए ।

कुटनीतिक पहलबाट अतिक्रमित भूमि भारतबाट फिर्ता ल्याउन सरकारले हरेक च्यानलबाट भारत र चीन दुवै देशसँग पहल गर्नुपर्ने उनले सुझाव दिएका छन् । भारतले नेपाली भूमिलाई फिर्ता गरेर असल सम्बन्ध कायम राख्नुको विकल्प नरहेको र सरकारले रोजगारको नाममा विदेश पलायन भएका युवाहरुलाई देशभित्रै रहने व्यवस्था गर्नु जरुरी भइसकेको उनले बताए ।

रेमिट्यान्स जस्तो परनिर्भरताको त्यान्द्रोमा सरकार रमेर बसिरहे देशको माटो खतरामा पर्ने निश्चि भएकोले नयाँ पुस्ताले राष्ट्रियताको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आइसकेको उनको भनाई छ । देशको एक इञ्च माटो कसैलाई मिच्न नदिन सारा नेपाली एकजुट हुनुपर्ने बताए ।

बाह्य हस्तक्षेप वा हमला सैन्य, राजनीतिक, कुटनीतिक, धार्मिकलगायत विविध किसिमबाट हुने बताउँदै आफू देशको माटो रक्षा गर्न बन्दुक, कोदालो जे समात्नु परेपनि आफू युवाहरुसँगै उभिन तयार रहेको उनले बताए ।