काठमाण्डौं – भारतले नेपालको भूमिसहित आफ्नो दावी गर्दै नक्सा सार्वजनिक गरेपछि मधेस केन्द्रित दल राजपा र समाजवादी पार्टी मौन छन् । मधेस केन्द्रित दलले अहिलेसम्म व्यक्तिगत वा पार्टीको कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

नेपालको संविधान प्रति असन्तुष्टि जनाउँदै भारतले ६ महिना लामो नाकाबन्दी लगाउँदा उक्त नाकाबन्दी आफूले लगाएको दाबी गरेका मधेस केन्द्रित दलले भारतले नेपाली भूमिलाई समेटेर जारी गरेको नयाँ नश्साप्रति कुनै प्रतिक्रिया नजनाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नोभेम्बर २ मा भारतको नक्सा जारी भएपछि अन्य दल र नेताहरुले सार्वजजिनक रुपमा प्रतिक्रिया दिएका छन् । सरकारले भारतले जारी गरेको नक्शा अस्वीकार्य हुने जनाइसकेको छ भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले उक्त नक्शा सच्याउन भारतीय राजदूत मंजिव सिंह पुरीलाई आग्रह गरिसकेका छन् ।

तर, शुक्रबार भारतले नक्सा जारी गरेको ६ दिन पूरा भइसक्दा पनि मधेस केन्द्रित दलले औपचारिक धारणा सार्वजनिक नगर्नुलाई आश्चार्यजनक मानिएको छ, सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाले बिहीबार भारतले जारी गरेको नयाँ नक्सा अस्वीकार्य हुने बताएका थिए ।

यसै बिच नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल भने अगाडि देखिएका छन्। बिहीबार साँझ पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गर्दै उनले भारतको नयाँ नक्शामा नेपालको भूभाग अतिक्रमित भएकाले त्यसको कूटनीतिक तवरबाट वार्ता गरी समाधान निकाल्न सरकारसंँग आग्रह गरेका छन् ।

खनालले अतिक्रमित भूमिबारेमा ऐतिहासिक कालदेखिका तथ्याङ्क प्रस्तुत गरी भारत सरकारसंँग वार्ता र कूटनीतिक ढङ्गले समस्याको समाधान गरी नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् ।