निर्मला खडायत – चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि सुरु गरेको १७ औं चरणको सत्याग्रह शनिबार छैटौँ दिन पनि जारी छ । जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा डाक्टर केसीले सत्याग्रह जारी राखेका हुन् ।

डडेल्धुरा भ्रमणको तीन महिनापछि केसीले जिल्ला सदरमुकामा अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको अनवरत लडाईमा होमिएका डाक्टर केसीले दुर्गममा पनि मेडिकल कलेज खोल्नुपर्ने माग राखेका छन् । सुदूरपश्चिमको डोटी र डडेल्धुरामा मेडिकल कलेज खोल्नुपर्ने अडान पनि उहाको पूरानै माग हो । डा. केसीले डडेल्धुरामा अनसन बसेपछि उहाको अनसनलाई लिएर बिभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

उपभोक्ता हित संरक्षण मञ्च कैलालीका अध्यक्ष हरी रेग्मीले डा. गोबिन्द केसीले उठाएका मागहरु सबैको हितका लागि भएको बताए । उनले पटक–पटक जनताका मागलाई लिएर डा. केसीले अनशन बस्दा पनि सरकारले नसुनेझै गरेको तर्क गरे । आम नेपाली जनताका छोराछोरीको स्वास्थ्य शिक्षाका सवाललाई उठाएर अनशन गर्दै आएका केसीको मागको सुनुवाई नहुनु दुखद कुरा भएको बताए ।

‘डा. केसीले उठाएका मागहरु समग्र स्वास्थ्य क्षेत्रका हितको लागि छ । सरकारले यसलाई पार्टिगत रुपबाट हेरेकोले समस्या भएको हो’ उनले भने ‘जनजिविका संग जोडिएका कुराहरुमा सरकार गम्भिर भएर लाग्नुपर्छ । डा. केसीले गरेका मागहरुको यथासक्य सुनुवाई हुनुपर्छ ।’ ब्यक्तिले सत्र पटक सम्म अनशन बस्दा पनि सरकार मौन भएर बस्नु नेपाली जनताकै लागि दुर्भाग्यको कुरा भएको उनले बताए । यदी डा. केसीले उठाएका मागहरु जयज नभए सरकारले कारण सहित स्पष्टिकरण दिनुपर्ने उनको भनाइ छ ।

डाक्टर केसीले उठाएका माग जनताको पक्षमा रहेको नेपाल च्याम्बर अफ कमर्सका जिल्ला अध्यक्ष मोहन राज शर्माको भनाइ छ । उनी डा. केसीको माग पुरा नभएकै कारण भविष्यमा डाक्टर बन्छु भनेर मेडिकल कलेजमा भर्ना भएका बिद्यार्थीहरु पढाई छोडेर आन्दोलनमा उत्रिरहेको बताए ।

‘स्वास्थ्य शिक्षा जुन कुरा हाम्रो जिवनसंग प्रत्यक्ष रुपमा जोडिएको छ । केसीले त्यहि विषयलाई लिएर आवाज उठाइरहनु भएको हो । उनको अनसन तोड्न सम्झौता भएपनि सम्झौता कार्यान्वयन हुँदैनन्’ शर्माले भने ‘देशको स्वास्थ्य क्षेत्र हाक्न तयार हुनुपर्ने युवाहरु चर्को शुल्कको विरुद्धमा नारा लाउँदै आन्दोलन गर्छन् । सरकार मौन बस्छ । यो कत्ति सम्मको लाजमर्दो कुरा ?’ उनले थपे ‘डा. केसी गरिब जनताको हक हितका लागि लडिरहनु भएको छ । उनको माग तत्काल पुरा हुनुपर्छ ।’

राज्यले तोकेको मूल्य भन्दा बढि शुल्क लिइरहेका कलेजलाई पनि सरकारले कार्वाहि गर्न नसक्नु, जनताका जायज मागलाई लिएर अनशन बसेका डा. केसीका कुराको सम्बोधन नगर्नुले सरकार जनताप्रति उदार नदेखिएको बिचार उनले ब्यक्त गरे । डा. केसीकै समर्थनमा नागरिक समाजले दबाब र्याली निकालेका छन्, डा. केसीलाई भेट्न र उहाको सत्याग्रहमा ऐक्यबद्धता जनाउन यहाँका स्थानीयहरुको लर्को नै लाग्ने गरेको छ । तर, केहिले भने उनको अनशनलाई राजनैतिक रुपमा पनि लिएका छन् ।

धनगढीका बिरेन्द्र रावल सुरुवातमा डा. केसीका माग जायज भएको भएपनि पछि उनको नशनमा पार्टिगत स्वार्थ पो लुकेर बसेको छ कि भन्ने आशंका पनि कतिपयको मनमा उठ्न थालेको बताउछन् । ‘कुनै दलका आडमा पो उनले हरेक चोटि अनशन सुरु गर्छन कि ? होइन भने उनको समर्थनमा अरुले किन अनशन गर्दैनन् ?’ उनले भने ‘उनको अनशन १७ पटक भएपनि त्यसको प्रतिफल अहिले पनि देखिदैन ।’ अनशन बस्नुअघि पत्रकार सम्मेलन गरेर केसीले प्रधानमन्त्रीसँग जनताले पनि सुलभ उपचार पाउनुपर्ने बताएका थिए ।

उनले मागहरु पूरा नहुँदासम्म अनशन जारी नै राख्ने समेत बताएका हुन् । प्रत्येक पार्टीको सरकार हुने बेला आफू अनशन बसेको समेत उनले सुनाए । ‘अहिले ओली जी प्रधानमन्त्री हुनुहुन्छ । उहाँ प्रधानमन्त्री हुँदा म चारचोटी अनशन बसें। अरु पार्टीले सरकारको नेतृत्व गरेका बेला पनि बसेकै हुँ ।’ डा. गोविन्द केसीले भने, मेरा मागहरु पूरा नहुँदासम्म अनशन बसिनै रहन्छु ।’

डा. केसीले १५ औँ अनशन तोड्दा उनको माग अनुसार सरकारले २०७५ साउन १० गतेसरकारले इलाम, पाँचथर, उदयपुर र डडेल्धुरामा मेडिकल कलेजको सम्भाव्यता अध्ययन पनि गरेको थियो । त्यसका लागि ‘एक महिनाभित्र टोली गठन गर्ने’ भनिएको थियो । तर एक वर्ष बित्दा पनि त्यो बुँदा कार्यान्वयन भने भएन् । आफ्नो यो मागलाई पहाडी जिल्लाका जनताले समर्थन गर्ने र पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवा पटक पटक निर्वा्चित भएको क्षेत्र भएको कारण पनि यस क्षेत्रबाट सरकारमाथि दबाव दिन सहज हुने हुँदा डडेल्धुरा आएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दुरीमा सञ्चालनमा रहेको निर्मल क्लनीकको तेस्रो तलाको एउटा चिसो कोठामा डाक्टर केसीले सत्याग्रह जारी राखेका हुन् । अत्यधिक चिसोका कारण सत्याग्राह थालेको दोस्रो दिनमै बिग्रिएको स्वास्थ्यमा भने केही सुधार भएको छ । सत्याग्रहको तेस्रो दिन बोलचाल नै बन्द भएकोमा स्थानीयले कोठालाई न्यानो बनाउने प्रबन्ध मिलाएपछि केही सुधार भएको डडेल्धुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताए । अनशन बस्नु अघि चाउमिन र ५० ग्राम मिठाई खाएका केसी पाचौँ दिन पनि भोकै छन् ।

यी हुन् डा. केसीका ७ बुँदे माग

१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२.विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

३.आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस्। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डौ विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस्।

४.संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्या्एर एमबिबिएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्।

६.क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस्। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबंदीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस्।

७.संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीडि़तहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।

उनको अनशनमा यस क्षेत्रका केहि राजनैतिक ब्यक्तित्व, समाजसेवी, युवा, बुद्धिजिवी र सर्वसाधारणको समर्थन रहेको छ । उनीहरुले डा. गोबिन्द केसीका मागहरु जयज भएकोले तिनको सुनुवाई हुनुपर्ने बताएका छन् ।