काठमाण्डौं – प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्य रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई ओर्लनासाथ पक्राउ गरिएको हो । उनी पूर्वअर्थ सहायकमन्त्री समेत हुन् । उनीविरुद्ध विजेन्द्र कृष्ण मल्लले रकम भुक्तान गरे पनि जग्गा नदिएको भन्दै मुद्दा दायर गरेका थिए । काठमाडौं जिल्ला अदालतले गत २०७५ मंसिर २० गते १ करोड २६ लाख रुपैयाँ ठगी गरेकोे ठहर गर्दै उनीबिरुद्ध पूर्जी जारी भएको थियो ।

ज्योति समूहले सर्वोच्च अदालतमा रिट दायर गर्दै ठगी गरेको जिल्ला अदालतको फैसलालाई चुनौती दिएका थिए । सर्वोच्च अदालतले उक्त रिट खारेज गरेसँगै प्रहरीलाई ज्योति पक्राउको बाटो खुलेको थियो ।