काठमाण्डौं – जुनमा मात्र सीमित फ्रुट फ्लाई अर्थात चाइनिज झिँगाको प्रकोप सुन्तलामा पनि फैलिन पुगेको छ ।

सन् २००८ मा सुन्तलाजन्य फल नेपाली जुनारमा देखा परेको यो झिँगाको प्रकोप यो वर्षबाट सुन्तलामा पनि देखिन थालेको हो । यो किरा एक प्रकारको झिँगा हो । यो किरा चाइनिज फलफूलको माध्यमबाट नेपाल प्रवेश भएको कृषि सम्बन्धी कार्यालय नार्कका वैज्ञानिकहरुले पुष्टि गरेका छन् ।

झिँगाको पाथी जातले गुच्चाजत्रो आकारको बेला जुनारमा अण्डा पार्ने र विस्तारै गुदी भागसम्म पुगेर औंस हुँदै लार्भा र प्यूपामा विकास भएर पुनः झिँगा बनेर जीवनचक्र पूरा गर्ने यो किराले नेपाली जुनार खेतीलाई सन् २०१५ तिरबाट नष्ट जस्तै पारिसकेको थियो । यसबाट सिन्धुलीका जुनार किसानले करिब करिब पेशाबाट हात झिक्ने स्थितिमा पुगे ।

तर सरकारले यसको प्रकोपलाई नियन्त्रण गर्न सिन्धुलीको जुनार ‘जोन’मा उपचारको विशेष अभियान नै चालेपछि पछिल्लो समयमा किसानले खुशी पाए । र, अहिले पनि ‘जोन’मा कडाईका साथ यो झिँगाको प्रकोप नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको कृषि अनुसन्धान परिषद् (नार्क) खुमलटारले जनाएको छ ।

झिँगा शुरुमा भारतको सिक्किम हुँदै नेपाल आयात भएको चाइनिज फलफूलबाट देशभित्र आइपुगेको नार्कका वैज्ञानिकहरुबाट तयार पारिएको प्रतिवेदनले देखाएको छ । जुनार फलको अभाव यो किरा सुन्तलामा सहजै सर्ने गरिएको नार्कको अध्ययनले देखाएको छ ।

तर पनि जुनारबाट नगद आम्दानी देखेर रामेछाप, काभ्रे, तनहुँ, स्याङजामा पनि जुनार खेती विस्तार भएको नार्कले जनाएको छ । तर त्यहाँ पनि किराको प्रकोप फैलिन थालेपछि नियन्त्रणमा प्रयास भएको स्थानीय स्तरबाट थालिएकोमा सरकारी नीति अनुसार निश्चित क्षेत्र तोकेर खेती नभएपछि लथालिंगको अवस्थामा पुग्यो र यहाँ प्रकोप नियन्त्रणमा आउन सकेन । बरु कतिपयले जुनार खेतीबाटै हात झिके ।

यो किराले जुनारमा मात्र नभई अब सुन्तलामा पनि क्षति पुर्याउन शुरु गरेको विवरण प्राप्त भएको छ । रामेछापको साविकको लखनपुर गाविस–९ हाल दोरम्बा गाउँपालिका–७ स्थित पुँडीमा यो किराले सुन्तला बालीलाई क्षति पुर्याएको छ ।

किसान लालध्वज लामाका अनुसार गत वर्षसम्म जुनारमा मात्र सीमित रहेको किरा (झिँगा)ले यसपालीबाट सुन्तला फललाई क्षति पुर्याएको हो । किराको प्रकोपकै कारण उनले वार्षिक पचार हजार रुपैयाँ आम्दानी गरिरहेका जुनारबाट हात झिकिसकेको बताए । उनका अनुसार किराले तीन वर्षकाे अविधमै ९० प्रतिशत जुनार खेती नष्ट भइसकेको छ ।

सुन्तलाबाट उनले वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी लिइरहेका छन् । तर यो वर्षबाट उक्त किरा सुन्तलामा पनि फैलिन शुरु भएपछि दुई दिन वर्षमै सुन्तला खेती नष्ट हुने स्थिति देखिएको उनले बताए । यहाँका पुँडी र टेक्सिङका किसानले करिब हरेक वर्ष ५० लाख रुपैयाँ बराबरको सुन्तला व्यापार गर्दै आइरहेका छन् । किराको रोकथामबारे सम्बन्धित निकायले ध्यान नदिएका कारण किसान सुन्तला खेतीबाट पनि पलायन हुने निश्चित प्रायः भएका छन् ।

रोकथामबारे किसानले जिल्ला र नार्क कार्यालयसम्म किरा प्रभावित जुनार दाना लिएर नार्क कार्यालय पुगेर जानकारी दिएका थिए । तर कार्यालयले औषधिमुलो गर्न ठोस कार्यक्रम दिनुको साटो सुझाव मात्र दिएर टार्ने काम गरेको किसानले गुनासो पोखे ।

यस क्षेत्र सुन्तलालाई ‘शैलुङे सुन्तला’को नाममले परिचित छ । अन्य क्षेत्रका भन्दा यहाँको सुन्तला रसिलोर स्वादिलो भएकोले बजारमा पनि राम्रै भाउ पाइन्छ । बजार क्षेत्र मुख्य काठमाडौंको कालिमाटी हो । पौषको दोस्रो हप्ताबाट माघ पहिलो सातासम्ममा बजारमा पुर्याइसक्छन् । तर किराले क्षति पुर्याउन थालेपछि हिजोआज नै झण्डै १० प्रतिशत सुन्तला झरिसकेको किसानहरुले बताउँछन् । दाना अस्वभाविक रुपमा पहेँलो हुन थालेपनि दाना फोडेर हेर्दा भित्री भागमा असंख्या किराको लार्भा भेटिएको किसानहरुले बताए । अहिलेजस्तो झर्ने क्रम नरोकिए पौषसम्म पनि सुन्तला बोटमा रहने भन्दै उनीहरु चिन्तित छन् ।

किसान पञ्चमायाको बगैँचामा पनि प्रकोपले सुन्तला झरेर निकै क्षति पुगेको छ । उनले वार्षिक ३ लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी लिइरहेकी थिइन् । यो वर्ष सुन्तला राम्रै फलेको तर प्रकोप फैलिन पुगेपछि उनी चिन्तित् छिन् । प्रकोप शुरु भएको दुई तीन वर्षमै खेती सखाप पार्ने गतिमा फैलिने गरिएको पाइन्छ ।

गत वर्ष नजिकै पर्ने छिमेकी जिल्ला काभ्रेको नाग्रेमा सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड एक कार्यक्रममा पुगेका बेला यहाँका किसानहरुले सामूहिक रुपमा भेट गरी पुँडी क्षेत्रलाई ‘सुन्तला पकेट जोन’ घोषणा गरी सुन्तलाको वैज्ञानिक रुपमा विकास कार्यक्रम घोषणा गर्न माग गरेका थिए । अध्यक्ष प्रचण्डले किसानलाई आफू काठमाडौं पुगेर यसबारे सरकारसँग तत्काल छलफल गरेर आगामी आर्थिक वर्षमै माग पूरा गर्ने आश्वसन दिएपनि अहिलेसम्म यसबारे कुनै खालका कार्यक्रम नआएको कृषकहरु बताउँछन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ सरकारको नारा गफमा मात्र सीमित रहेको भन्दै यहाँका सुन्तला कृषकहरुले गुनासो पाखे ।
त्यस्तै फौजी किराको प्रकोपका कारण अहिले पनि तरकारी किसान प्रभावित छन् । धान बालीको प्रकोप पनि सरकारले हटाउन सकेको छैन ।