सर्वसाधारण विरामी पर्दा एम्बुलेन्स नपाएर हैरान

निर्मला खडायत – सुदुरपश्चिम एउटा यस्तो प्रदेश हो । जहाँ २ वटा जिल्ला मात्रै सुगममा छन्, कैलाली र कञ्चनपुर बाहेक प्रदेशका ७ जिल्ला पहाडि छन् । कहिले भिरबाट खसेर त कहिले अचानक विरामी हुँदा उनीहरु अकालमै ज्यान गुमाउँछन् । पहाडबाट तुरुन्त तराईका अस्पताल पुर्याउन सहज रुपमा एम्बुलेन्सको सुबिधा पनि छैन् । तर, प्रदेश सरकारले भने सर्वसाधारणको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने भनेर खरिद गरेको एम्बुलेन्स अहिले सम्म पनि अस्पतालहरुमा वितरण गर्न सकेको छैन् ।

८८ वटा स्थानिय तह रहेको सुदुरपश्चिमका सबै सरकारी अस्पतालहरुमा एम्बुलेन्सको सहज पहुँच छैन् । केहिमा भएका थोरै एवुलेन्स पनि प्रयोग विहिन छन् । प्रदेशको स्वास्थ्य अवस्था सुधारका लागी भनेर सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सवा ६ करोड लगानीमा १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गर्यो । लामो समय भइसक्दा पनि ति एम्बुलेन्स अहिले पनि मन्त्रालयमै थन्किएका छन् ।

स्थानीय तहमा रहेका अस्पतालहरुमा एम्वुलेन्स अभावकै कारण धेरै बिरामी र घाइतेले अकालमै ज्यान गुमाउन परेको छ । उनीहरु अस्पतालमा सरकारी एम्वुलेन्स नहँुदा प्राइभेट एम्वुलेन्समा चर्काे भाडा तिरेर स्वास्थ्य सेवा लिइरहेका छन् ।

‘समयमा एम्वुलेन्स नपाउँदा पहाडि जिल्लाका धेरै बिरामीहरुले बीचबाटोमै ज्यान गुमाउनु परेको छ’ अछाम रामारोशन गाँउपालिकाका उपाध्यक्ष सरस्वती रावलले भनिन् ‘महिला गर्भवती हुँदा, भिरबाट खस्दा होस अथवा अन्य दुर्घटनामा पर्दा होस् : निजि एम्बुलेन्स बोलाउन पर्ने बाध्यता रहेको छ । उनीहरुले मनलाग्दी भाडा भन्छन्, हामी तिर्न बाध्य हुन्छौं ।’

पहाडी क्षेत्रको मात्रै कुरा होइन प्रदेशको राजधानी धनगढीमा पनि यस्तै समस्या छ । प्रदेशकै ठूलो र सुबिधा सम्पन्न मानिने प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा जम्मा दुइ वटा एम्वुलेन्स छन् । त्यसमध्ये पनि एउटा प्रयोग विहिन अवस्थामा छ ।

अस्पताल भरि एउटै सरकारी एम्वुलेन्सको भरमा सेवा प्रदान गर्न निकै कठिनाइ भइरहेको सेती प्रादेशि अस्पतालका सुचना अधिकारी दिलीप श्रेष्ठको भनाइ छ । उनले प्रादेशिक अस्पतालमा एउटा एम्बुलेन्स अपुग नै भएको बताए । उनले भने, –‘यदि चाँडै प्रदेश सरकारले अस्पतालमा एम्बुलेन्स वितरण गरिदिए यस क्षेत्रका जनतालाई स्वास्थ्य सेवा लिन निकै सजिलो हुनेछ ।’

प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरिय तथा छिटोछरितो बनाउने उद्देश्यका गत आर्थिक बर्ष ०७५-७६ को बजेटमा सामाजिक विकास मन्त्रालयले जेठ महिनामा एम्वुलेन्स खरिद गरेको थियो । तर, आन्तरिक खिचातानीका कारण अहिले सम्म बितरण भने गर्न सकेको छैन् । तर, सुदुरपश्चिम प्रदेश समाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्का भने मन्त्रालय एम्बुलेन्स बितरणको अन्तिम तयारीमा रहेको जानकारी दिए ।

बि लेभलको एम्बुलेन्स भएकोले केहि प्राबिधिक समस्याका कारण यसको वितरणमा ढिलाइ भएको उनले स्विकार गरे । अब छिटै नै औपचारिक कार्यक्रम गरेर स्थानीय तहका प्रमुखहरु, जिल्ला अस्पताल र अन्य अस्पतालका प्रमुखहरु सहित ब्यवस्थापन समितिका अध्यक्षलाई बोलाएर यो हस्तान्तरण गरिने बताए । ‘प्रदेशका बिभिन्न स्वास्थ्य संस्थामा एम्बुलेन्सका अभाव रहेको कुरा मन्त्रालय र मन्त्री ज्यूलाई जानकारी नै छ’ उनले भने ‘यि एम्बुलेन्सहरु प्रदेशका सबै जिल्लाहरु र बिशेष गरि बिकट क्षेत्रका जनताको अवस्थालाई मध्यनजर गरेर वितरण गरिने छन् ।’

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलेन्डर बाहेकका सुबिधा नभएको अवस्था छ । तर, प्रदेश सरकारले खरिद गरेका नयाँ १६ वटा एम्वुलेन्समा फुल एसी सहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सीजन सिलिण्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुबिधा रहेको छ । खरिद गरिएको एम्बुलेन्स तत्काल बितरण भए सहजता आउने अपेक्षा सर्वसाधारणको रहेको छ ।

धनगढी उपमहानगरपालिका २ का जनार्दश शर्मा प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि बेला बेलामा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गर्ने गरेको बेला एम्बुलेन्सहरु मन्त्रालयमा थन्काएर राख्नु जायज नभएको गुनासो गरे । उनले थन्काएका एम्बुलेन्सहरु स्वास्थ्य संस्थामा पुगे धेरैको ज्यान जोगिने बताए । ‘केहि यस्ता ठाउँ छन्, जहाँ समयमा एम्बुलेन्स पाइँदैन् । निजि एम्बुलेन्स पाइहाले पनि हवाई टिकट भन्दा महंगो उनीहरुको भाडा हुन्छ’ उनले भने ‘५ हजार लाग्ने ठाउँमा निजि एम्बुलेन्सले २५ हजार जति असुल्ने गरेको छ ।’

सरकारले जतिसक्दो चाँडो ति एम्बुलेन्सहरु वितरण गर्नुपर्ने बिचार उनले ब्यक्त गरे । सर्वसुलभ रुपमा गाउँमै केन्द्रित गरेर एम्वुलेन्स सेवा सुरु गरिए स्थानियलाई ठुलो राहते हुने उनले बताए । मन्त्रालयले किनेका एम्वुलेन्स ग्रामिण भेग सम्मै पुग्न पाए स्थानियले छिटो र सहज रुपमा मात्रै सेवा पाउँने छैनन् । अधिकास बिरामी र घाइतेको ज्यान समेत जोगिने धनगढी ५ की निर्मला पालले बताइन् । उनले स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले आन्तरिक खिचातानी नगर्नुपर्नेमा जोड दिइन् ।

‘अन्य कुरामा जे जस्तो भएपनि यो भनेको मानिसहरुको प्रत्यक्ष जिवनसँग जोडिएको विषय हो । सरकारले यसको बाँड्फाँडमा बाहाना गर्न सुहाउँदैन’ उनले भनिन् ‘सुदूरपश्चिम प्रदेश सरकारले तत्काल एम्वुलेन्स बितरण गर्न तदारुकता देखाउनै पर्छ ।’

तिन महिना भन्दा बढि समय सम्म पनि यसरी एम्बुलेन्स थन्क्याएर राख्नु प्रदेश सरकारको लापरवाहि रहेको उनले बताइन् । ‘साच्चिकै प्रदेश सरकार सर्वसाधारणको स्वास्थ्य प्रति जिम्मेवार भएको भए त उसले अहिले सम्म बाँडिसक्नुपर्ने । थन्किएका ति एम्बुलेन्सले कैंयौंको जिन्दगी बचाइसकेका हुन्थे’ निर्मलाले भनिन् ।