काठमाण्डौं – नेपाली कांग्रेसले सरकारले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रले प्रदेश प्रमुखको बर्खास्ती गरेको ठहर गरेको छ । बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जारी कांग्रेस पदाधिकारी बैठकले उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचारसंहिता विपरित रहेको ठहर गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको छ ।

त्यस्तै कांग्रेसले सरकारले प्रदेश प्रमुखको बर्खास्ती गरेर सहमतिको राजनीतिलाई बिथोल्न खोजेको समेत आरोप लगाएको छ । बैठकले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ूसंघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ, विज्ञप्तिमा भनिएको छ । कांग्रेसले सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनुपर्नेमा संघीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको बताएको छ ।

कांग्रेस पदाधिकारी बैठक जारी छ । बैठकले उपनिर्वाचनका लागि उमेदवारको टुंगो लगाउने अपेक्षा गरिएको छ ।