काठमाण्डौं – पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई ठगी गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई अविलम्ब निलम्बन गर्न माग गरेका छन् ।

उनले सोमबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै कँडेलले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाईन्सजस्तो पूरानो संस्थाले स्वदेश तथा विदेशी पर्यटकलाई एयरपोर्टभित्र ड्युटी फ्री सामान पाइने भनी गलत सूचना प्रवाह गरेर झुक्याउने काम गरेको कँडेलको भनाई छ ।

नेपाल एयरलाईन्सले हामी सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुलाई ढाँट्ने काम गरेको छ, एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सूचना राखिएको छ । यो सूचना सरासर गलत हो । विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन’ कँडेलले भने ।

गलत सूचना प्रवाह गर्ने निगमका कार्यकारी अध्यक्ष खरेललाई तत्काल निलम्बन गरी छानबिन गर्न पर्यटनमन्त्री योगेश कुमार भट्टराईको ध्यानकर्षण गराए । गलत सूचनाले सरकारले घोषणा गरेको ‘नेपाल पर्यटन वर्ष– २०२०’ पूर्णरुपमा प्रभावित हुने चेतावनी उनले दिए ।

‘विमानस्थलभित्र ड्यूटी फ्रि सामानको व्यवस्था नै नरहेको बेला यात्रुलाई ढाँट्न गलत सूचना प्रवाह निगमले गरेको छ । यो सरासर अपराध हो’ उनले भने, ‘२४ घण्टाभित्र यो गलत सूचना नसच्याए अन्तर्राष्ट्रिय रुपमै भण्डाफोर गरिन्छ ।’

यसअघि निगमलाई डुबाउले ठूला भ्रष्टाचारी अर्थात ‘ठूला माछा’ पछार्छु भन्दै तम्सिएका कँडेलले ‘माछा’ भने पछार्न सकेका छैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ड्यूटी फ्रि सामान भने बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला हटाएको थियो । अहिले पनि छैन ।