सुकुटे बस दुर्घटनाः नालिबेली

काठमाण्डौं – ग्रामीण क्षेत्र त्यसमा पनि कच्ची बाटो पार गरेर पिच सडकमा आइपुगेको यात्रुवाहक बस दुर्घटनाबारे गहन अध्ययन शुरु गरेको तर्क पूर्वअरनिको यातायात प्रा.लि.का अध्यक्ष चित्रबहादुर कुवँरले गरेका छन् ।

यसै प्रा.लि.अन्तर्गत शैलुङ्गेश्वरी यातायातको बा२ख ७२४५ यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेमा भयानक दुर्घटनामा परेको हो । दोलखाको मागादेउरालीबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको थियो । मागा देउरालीदेखि मुडेसम्मको सडक कच्ची धुलम्मे–हिलम्मे छ । मुडे हुँदै करिब ३० कि.मि. तल ओर्लिएर सुनकोशी किनारा खाडीचौंरबाट अरनिको राजमार्गअन्तर्गत सुकुटेको तेर्सो पिच आउँदै गर्दा बस सुनकोशीमा खसेको हो ।

दुर्घटना भएको स्थान पिच सडक क्षेत्रमा पर्दछ । तर कच्ची पार गरेर आएको बस पिच सडकमा आइपुगेपछि दुर्घटना भएबाट गम्भीर प्रश्न उठेको अध्यक्ष कुवँरको तर्क छ । ‘जोखिमयूक्त कच्ची सडक पार गरेर आइसकेको बस पिचमै आइपुग्दा दुर्घटना हुनुले समिति गम्भीर बनेको छ । यसमा गहन अध्ययन गरी यर्थात कारण बाहिर ल्याउँछौं’ अनलाइनपाना डटकमसँग अध्यक्ष कुवँरले भने ।

गन्तव्यबाट ठीक्क संख्यामा यात्रु बोकेर हिँडेपछि बिचबिचमा थुप्रै यात्रु चढ्ने गरेका कारण धेरै यात्रु दुर्घटनामा परेको उनको तर्क छ । यात्रु चाप हेरेर बस संख्या चाहिं किन बढाउनु हुन्न ? भन्ने प्रश्नमा ‘त्यसबारे पनि हामीले सोचेका छौं, चालकलाई पनि थप स्कूलिङ चलाउँछौं ।’
मोटरसाइकललाई साइड दिने क्रममा सुकुटे दुर्घटना भएको भन्ने रिपोर्ट आफूसँग आएको पनि अध्यक्षले कुवँरले बताए । घाइतेहरुको उपचारमा कुनै कमी आउन नदिने उनको भनाई छ । सुकुटे बस दुर्घटनामा परी १७ जनाको मृत्यु र ५२ जना घाइते भएका छन् ।

बस दुर्घटनामा परी एकैदिन २२ को मृत्यु

हिजो आइतबार भिन्नभिन्न स्थानमा भएको यात्रुवाहक दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ । आइतबार बिहान दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दिउँसो साढे १ बजेको समयमा अरनिको राजमार्गअन्तर्गत सुनकोशी किनारा क्षेत्र सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो ।

बस सुनकोशीमा खसेर डुबेको थियो भने धेरै यात्रु कोशीमा बगेका थिए । बस पूर्वअरनिको यातायात प्रा.लि.को शैलुङ्गेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरको हो । ज्यान गुमाउनेमा १० जना महिला, एक बालिका र पाँच जना पुरुष छन् । ५२ जना घाइते भए ।

घाइतेमध्ये बनेपाको सिरमेमोरियल अस्पतालमा २, मध्यपुर ठिमी अस्पतालमा १, ब्लूक्रस अस्पतालमा १, नर्भिक अस्पतालमा १, ग्राण्डी अस्पतलामा १, ट्रमा सेन्टरमा २ जनाको उपचार गराइरहेको छ । धेरै घाइते धुलिखेल अस्पतालमा उपचार गराइरहेका छन् ।

यस्तै हिजै म्याग्दीको मालिका गाउँपालिका – ७ बिममा भएको बस दुर्घटनामा परी बसमा सवार रवी जुग्जाली र आयुषा जुग्जालीलागतय चार जनाले ज्यान गुमाए । यो दुर्घटनामा १८ जना घाइते भए । बिममा दुर्घटनाका बस दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको यात्रुबाहक बस थियो ।

यसअघि सरकारले सार्वजनिक गरेको तथ्यांकले दैनिक ६ जना सवारी दुर्घटनामा परी मृत्यु हुने गरिएको देखाएको थियो । तैपनि सरकारले यसलाई नियन्त्रण गर्ने ठोस विधि ल्याउन नसकेकै कारण अनाहकमा नागरिकले ज्यान गुमाइरहेका छन् ।

यस्तै कैलालीकोे घोडाघोडी नगरपालिका – १० पहलमानपुरमा आइतबार साँझ भे १ ख १७३२ नंम्वरको यात्र्वाहक से ३ प ६३७६ नम्बरको मोटरसाइकल ठक्कर दिँदा मोटरसाईकल चालक घोडाघोडी १० का ४० बर्षिय रामबहादुर चौधरीको घटनास्थलमै मृत्यु भयो ।

बस चालकको लापारवाहीका कारण चौधरीको ज्यान गएको भन्दै मृतक आफन्त र स्थानीयले सोमबार बिहान पनि सडक अवरुद्ध पारेका छन् ।