
काठमाण्डौं – संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको र कुटपीट गरेको विषयमा निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणमा उनको मोबाइलबाट संप्रेषण भएको म्यासेजलाई सरकारी वकिलको कार्यालयले बलियो आधार बनाएको छ ।
जिल्ला अदालत काठमाण्डौंमा शुक्रबार महराको बयान बन्द इजलासमा सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको छ । यो क्रममा प्रहरीले जम्मा पारेका अन्य प्रमाणसहित महराको मोबाइलको म्यासेजलाई निर्णायक प्रमाण बनाइएको हो ।
महराले छोरा चढ्ने गाडीमा तीनकुने पुगेको तर उक्त महिलाको कोठामा नछिरेको बयान दिएका थिए । त्यसो भए महराको मोबाइलबाट शाहीलाई गएको म्यासेजको यथार्थ के हो ? त्यसभित्र लुकेको रहस्य के हो ? भन्ने खोजीनीति महत्वपूर्ण ठानिएको छ ।
उक्त प्रकरणको अन्तरवार्ता पहिलो पटक पत्रकार अजयबाबु सिवाकोटीले प्रकाशन, प्रशारण गरेका थिए । सम्पादीत भिडियो प्रशारण गरे पनि त्यसको असली भिडियोचाहिँ प्रहरीले प्रमाणका रुपमा पेस गरिसकेको छ ।
सिवाकोटीले अन्तरवार्ता लिँदा लिँदै महराको फोन आएको थियो । शाहीले प्रष्ट भाषामा सिवाकोटीलाई भनेकी थिइन्,‘महरा सरको फोन हो ।’ उनले अन्तरवार्ताकै क्रममा मलाई यसो किन गरेको भनेर पनि सोधेकी थिइन् ।
उक्त भिडियो न्यायाधीश समक्ष सरकारी वकिलको कार्यालयले बलियो प्रमाणका आधारमा पेस गरेका छन् । त्यतिमात्र होइन, फोननम्बरसहित शाहीलाई म्यासेज गरेको हो या होइन भन्ने प्रमाणित गरी ‘फर्गेट यस्टर्डे’ भन्ने महराको म्यासेज निर्णायक प्रमाणका रुपमा पनि पेस गरिएको छ ।