काठमाण्डौं – सरकारले आइतबार सातवटै प्रदेशका प्रमुखलाई बर्खास्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएका छन् ।


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको निर्णय सार्वजनिक भएलगत्तै फेसबुकमा स्टाटस लेख्दै उनले प्रदेश प्रमुखहरुलाई हटाएर सरकारले सर्वसत्तावाद चरित्र प्रदर्शन गरेको बताए ।

‘प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई मनपरी ढंगले हटाउनु भनेको सरकार एकलौटी सर्वसत्तावादतर्फ जाने कोशिस हो’ स्टाटसमा लेखिएको छ ।

त्यस्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले प्रदेश प्रमुखहरुको बर्खास्त गरेर द्वन्द्व निम्त्याउने रवैया अपनाएको भन्दै कडा आपत्ति जनाएका छन् । सरकारको गलत निर्णयको कांग्रेसले डटेर सामना गर्ने उनले बताए ।

त्यस्तै सांसद डा. डिला संग्रौलाले ओली नेतृत्वको सरकारले पूर्वग्राही भएर प्रदेशका प्रमुखहरुलाई हटाएको बताएकी छन् । ‘सरकारले पूर्वग्राह ढंगबाट प्रदेश प्रमुख हटाएर अधिनायकवाद लाद्ने काम गरेको छ, हामीलाई यो निर्णय मान्य छैन’ सांसद डा. संग्रौलाले अनलाइनपानासँग संक्षिप्त कुराकानी गर्दै भनिन् ।

सरकारले आइतबारको मन्त्रिपरिषद्को बैठकले सातै वटा प्रदेशका प्रमुखहरुलाई हटाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा राष्ट्रपति भण्डारीले आइतबार साझै सातै जनालाई हटाएकी थिइन् ।