काठमाण्डौं – मन्त्रिपरिषद्पछि सरकारले आइतबार गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी छन् ।

सोही सिफारिसका आधारमा सातै प्रदेश प्रमुखलाई संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) बमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले आइतबार साँझ एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विप्ति अनुसार प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्वाहाङ, प्रदेश नं. २ का रत्नेश्वर लाल कायस्थ, प्रदेश नंं. ३ का प्रमुख अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का प्रमुख उमाकान्त झा, कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनाल र सूदुरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई हटाएका हुन् ।

सातै जनालाई तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ती गरेकोा थियो । प्रदेशहरुको अस्थायी राजधानी पनि सोही सरकारले तोकेको थियो । कर्णाली, सुदूरपश्चिम र गण्डकीको बाहेक बाँकीको राजधानी भने टुंगो लागिसकेको छैन । सातमध्ये प्रदेश नं. १, २, ३ र ५ को नाम टुंगो लगाउन बाँकी नै छ ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली भने मृगौलाले काम गर्न छाडेपछि अहिले दैनिकजसो डायलाइसिस गराइरहेका छन् ।