एजेन्सी – पोर्चुगलमा अनुहारको अधिकांश भाग बिना बच्चाको जन्म भएपछि चिकित्सक तथा स्वास्थ्य सेवाप्रति आक्रोशको अवस्था छ ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ४० किलोमिटर दक्षिणमा रहेको सेतुबालको अस्पतालमा अक्टोबर ७ मा रोड्रिगो नाम गरेका बालकको जन्म भएको हो ।

उनको नाम, आँखासहित अनुहारको अधिकांश भाग छैन । रोड्रिगोका अभिभावकलाई उनको जन्मपूर्व असामान्य शारीरिक अवस्थाबारे जानकारी नै थिएन ।

उनीहरुले नियमित गर्भको नियमित स्वास्थ्य जाँच गराएका थिए, तर डाक्टरले गर्भमा रहँदा रोड्रिगोको असामान्य अवस्थाबारे केही बताएनन् । यसले गर्दा रोड्रिगोका अभिभावक रुष्ट छन् ।

रोड्रिगोकी आमाको जाँच गरेका डा. आर्तुर कार्वाल्होलाई मेडिकल काउन्सिलले निलम्बित गरेको छ। उनीमाथि लापरवाही गरेको आरोप छ ।

डा. कार्वाल्होले आफूमाथि लागेका आरोपका बारेमा केही प्रतिक्रिया दिएका छैनन् । घटनापछि पोर्चुगलमा विरोध तथा आक्रोशको अवस्था सिर्जना भएको छ ।

नियमित जाँच गराउँदा पनि डाक्टरले गर्भमा रहेको शिशुको शारीरिक अवस्थाबारे कुनै पनि किसिमको सचेतना नदिएको आरोप रोड्रिगोका अभिभावकको छ ।

रोड्रिगोकी आमाले ६ महिनाको गर्भ हुँदा अर्को क्लिनिकमा ५डी अल्ट्रासाउण्ड गराएकी थिइन्, त्यसमा डाक्टरले शिशुको अवस्था असामान्य रहेको हुन सक्ने बताएका थिए । तर डा. कार्वाल्होले त्यो कुरा खारेज गरेका थिए ।