बीबीसी – सामाजिक संजालले किशोरहरुको जीवन सन्तुष्टिलाई सिमित वा अत्यन्तै थोरै मात्र असर गर्ने गरेको १२ हजार जनामा गरिएको एक बेलायती अनुसन्धानले जनाएको छ । यसरी अक्सफोर्ड युनिभर्सिटीको टोलीले गरेको यस अनुसन्धानमा परिवार, साथीभाइ र स्कुल जीवनले उनीहरुको अवस्थामा सबैभन्दा बढी प्रभाव पार्ने गरेको पाइएको हो ।

यस्तोमा यो अध्ययन यसअघिका अध्ययनहरुको तुलनामा धेरै गहिराइ साथ गरिएको र ठोस नतिजा निकाल्न सफल भएको अनुसन्धानकर्मीहरुले बताएका हुन् । यसअघि सामाजिक संजालले किशोरहरुको मानसिक अवस्थामा ठूलो असर पार्ने र उनीहरु आफ्नो जीवनसँग कम सन्तुष्ट रहने गरेको दाबी गरिएको थियो । तर ती सबै अनुसन्धानहरु सिमित प्रमाणमा आधिरित भएका कारण यो विषयको पूरा जानकारी दिन असफल रहँदै आएको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका प्रोफेसर एन्ड्रिउ प्रिज्ब्लिस्की र एमी अर्बेनले बताएका हुन् । प्रोफेसर एन्ड्रिउले भनेका छन्, ‘ अध्ययनका अनुसार ९९.७५ प्रतिशत व्यक्तिहरुको जीवन सन्तुष्टि र सामाजिक संजालको प्रयोगबीच स्पष्ट रुपमा कुनै सम्बन्ध छैन ।’

यस्तोमा युवाहरुको जीवनमा प्रविधिको प्रभावबारे अझ बढी बुझ्न कम्पनीहरुले सामाजिक संजालको प्रयोग कसरी भइरहेको छ भन्ने सम्बन्धि डाटाहरु सार्वजानिक गर्न समेत आग्रह गरिएको हो । जर्नल पिएनएसमा प्रकाशित सो अध्ययनले ‘युवाहरुले सामाजिक संजाल चलाइरहँदा यसले तिनको जीवन सन्तुष्टि कसरी न्युन गराइरहेको छ ?’ वा ‘आफ्नो जीवनसँग कम सन्तुष्ट रहनेहरुले बढी सामाजिक संजालको प्रयोग गर्ने गरेका हुन् ?’ भन्ने जस्ता प्रश्नको उत्तर दिने प्रयास गरेको हो ।

सो अध्ययन २००९ देखि २०१७ सम्म गरिएको हो जसमा दशदेखि १५ वर्षका हजारौँ बालबालिकाहरुलाई उनीहरुले सामाजिक संजालमा बिताउने समय र उनीहरुको जीवन सन्तुष्टिमा यसले पारिरहेको प्रभावबारे प्रश्न गरिएको थियो । यसक्रममा महिलाहरुले सामाजिक संजालमा धेरै समय बिताउने गरेको पाइएको हो तर तिनमा पनि कम प्रयोग गर्ने पुरुषहरु जत्तिनै असर पर्ने गरेको पाइएको छ । यसरी अनुसन्धानमा केबल १ प्रतिशत वा सो भन्दा कम मानिसको जीवनमा मात्र सामाजिक संजालले नकारात्मक असर गरिरहेको पत्ता लागेको छ जसकारण यो नतिजा अभिभावकहरुका लागि चिन्ताजनक नभएको बताइएको हो ।

यसका साथै अनुसन्धानकर्ताहरुले सामाजिक संजालले मानिसमा कस्तो प्रभाव पारिरहेको छ भन्नेबारे विस्तृत छलफल गन कम्पनीहरुसँग भेट गर्ने योजना बनाइरहेको पनि बताएका छन् । ओर्बेनका अनुसार कम्पनीहरुले सामाजिक संजाल प्रयोग सम्बन्धी आधिकारिक विवरण सार्वजानिक गरि स्वतन्त्र अध्ययन गर्न पहुँच दिनुपर्दछ ।