काठमाण्डौं – २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विष्फोटका करिब दुई दर्जन घाइतेलाई गोप्यरुपमा इट्टाभट्टामा हालेर जलाएको कसुरका अभियुक्त निलम्वित सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

म्याद थपका शुक्रबार अदालतमा पेश गरेका आलमलाई जिल्ला न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई अनुसन्धानका लागि थप ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । यो म्याद थप दोस्रो पटक हो ।

असोज २६ गते रौतहटस्थित उनकै निवासबाट पक्राउ गरिएका आलमलाई गएको आइतबा न्यायाधीश चाणकमणी अर्यालको एकल इजलासले पाँच दिन म्याद दिएको थियो । अनुसन्धानका कार्य बाँकी नै रहेकोले थप गर्न माग प्रहरीले गरेको थियो ।

रौतहटको क्षेत्र नं. २ बाट नेपाल कांग्रेसको तर्फबाट २०७४ सालको संसदीय चुनावमा निर्वाचित सांसद थिए । पक्राउ परेपछि आलमलाई संसदको संचिवालयले निलम्बन गरेको छ । अहिले उनीमाथिकाे अपराध कसुरका प्रमाणहरु जुट्ने र अनुसन्धानकाे क्रम तीव्र रुपमा भइरहेकाे प्रहरीले जनाएकाे छ ।

गएको आइतबार काठमाण्डौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेर बलात्कार प्रयासको अभियोगमा प्रहरीको हिरासतमा राखिएका पूर्वसभामुख महरालाई भने हिजो बिहिबारै अदालतमा पेश गराई ७ दिनको म्याद थप भएको छ ।

महारामाथि असोज १२ गते राति संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि कोटेश्वर तिनकुनेस्थित डेरामा गई मादक पदार्थ सेवन गरी बलात्कार प्रयास गरेको अभियोग छ । उनलाई असोज १९ गते बालुवाटारबाट पक्राउ गरिएको थियो ।