सिरियामा टर्कीको आक्रमण: टर्की र रुसले हात मिलाए

कुर्दिसमाथिको संकट थप सघन

एजेन्सी – टर्की र रुसबिच सिरियाली कुर्दिसलाई टर्कीको सीमा क्षेत्रबाट पर राख्ने सम्बन्धमा सहमित भएको छ। टर्की र रुसले यो सहमतिलाई ऐतिहासिक भनेका छन् । सिरियाको उत्तरी क्षेत्र टर्कीसँग जोडिएको छ र सो क्षेत्रमा कुर्दिसको नियन्त्रण छ । कुर्दिसलाई टर्की आतंकवादी मान्छ ।

टर्कीमा पनि कुर्दिसको बसोबास छ, उसले त्यहाँका कुर्दिसलाई दमन गरेको आरोप लाग्दै आएको छ। अगस्टको पहिलो हाप्तासम्म अमेरिकाको साथ पाएका सिरियाली कुर्दिसका कारण आफ्नो देशमा हिंसा फैलिन सक्ने भन्दै टर्कीले उनीहरुलाई सो क्षेत्रबाट हटाउनु पर्ने बताउँदै आएको थियो ।

अगस्ट ९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरे । त्यसलगत्तै टर्कीले कुर्दिसलाई लक्षित गरी सैन्य आक्रमण थाल्यो । त्यसको चौतर्फी आलोचना भयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको सेना फिर्ता बोलाउने निर्णयको पनि आलोचना भइरहेको छ । विश्वव्यापी रुपमा कुर्दिसमाथिको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै चासो व्यक्त भएपछि गएको बिहीबारदेखि मंगलबार बेलुकासम्मका लागि टर्कीले अल्पकालीन युद्धविरामको घोषणा गरेको थियो।

कुर्दिस लडाकुलाई सो क्षेत्रबाट बाहिर जानका लागि समय दिइएको टर्कीको भनाई छ । अब युद्धविरामको समय सकिएको र टर्की तथा रुसबिच सहमति भएको अवस्थामा पुनः आक्रमण सघन हुने डर छ ।

कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) को नियन्त्रणमा रहेको सिरियाको उत्तरी क्षेत्रमा सिरिया सरकारको शासन छैन ।

एसडिएफले आइएसविरुद्धको लडाईँमा अमेरिकी सेनालाई साथ दिँदै आएको थियो । तर ट्रम्पले सेना फिर्ता बोलाउने निर्णय गरेर आफूहरुलाई धोका दिएको तथा एक्लै पारेको कुर्दिसको भनाई छ ।

सिरियाका राष्ट्रपति बसर अल–असदको सहयोगी रुसले टर्कीसँग पनि हात मिलाएपछि कुर्दिसहरुमाथि थप संकट पैदा विश्लेषण गरिएको छ ।

टर्की र रुसले अब संयुक्त रुपमा कुर्दिसमाथि आक्रमण गर्ने भएका छन् । सहमतिमा टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोडगान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेका छन् ।

अमेरिकाले अप्रत्यासित रुपमा सैनिक फिर्ता बोलाउने निर्णय गरेर सो क्षेत्रमा टर्की तथा रुसको प्रभावका लागि मार्ग प्रसस्त गरेको पनि विश्लेषण छ ।

टर्कीले तत्काल सो क्षेत्रमा सैन्य आक्रमणको आवश्यकता भने नरहेको बताएको छ । युद्धविरामकै समयमा कुर्दिस लडाकु सुरक्षित स्थानमा गएको उसको भनाई छ ।