उपचुनावसँगै सत्तारुढ नेकपामा अन्तरकलह बल्झिँदै, तनावमा गाैतम

काठमाण्डौं – सत्तारुढ दल नेकपाभित्र आन्तरिक कलह पुनः बल्झिन पुगेको छ । पार्टी एकता प्रक्रियादेखि नै दुई जना अध्यक्ष रहने व्यवस्था गरिएदेखि नै यो पार्टीभित्रका पंक्ति पद र भागमा दुई कित्तामा बाँडिन शुरु भएको हो ।
सचिवालय, जबस र जिल्ला नेतृत्वको विषय टुंगो लगाउने प्रक्रियासम्म आउँदा पार्टीमा झण्डै विभाजनको रेखा कोरिने संकेत मिलेको थियो । त्यसबेला अन्तिममा दुईजना अध्यक्ष ओली र प्रचण्डबीच गोप्य सम्झौता हुने र विवाद तत्कालका लागि टर्ने क्रम बन्यो । त्यस्तो अवस्थाबीचमै विवादित विषयलाई टुंग्याउनै पर्ने स्थितिमा नौ सदस्यीय सदस्यबीच नै ६/३ मतबारे पनि छलफल चल्यो । अहिले विभिन्न विभागलाई पूर्णता दिन बाँकी छ ।
सबैभन्दा बढी पेचिलो बनेको विषय हो सरकार र पार्टी संचालनबारेको विषय हो । जबजब आन्तरिक कलह पेचिलो हुन्छ, तबतब सरकार र पार्टीलाई दुई अध्यक्षले अलगअलग रुपमा नेतृत्व गरेर जानुपर्ने विषय अगाडि आउने गरिएको छ । सोहीबीच हप्ता दिनदेखि अध्यक्षद्वयको इन्ट्रेसलाई दोस्रो तहका नेताहरुले व्यक्त गर्न शुरु गरेका छन् ।
मंसिर १४ मा हुन गइरहेको उपचुनाव नजिकिँदै छ । योबेला आन्तरिक कलह पनि भुसझैं सल्किँदैछ । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहका उपचुनावका उम्मेद्वारको टुंगो लगाउने विषयमा अझै पार्टीभित्र विषय खासै उठ्न नसक्नुमा अध्यक्षद्वयबीच शक्ति र भाग सन्तुलन नमिलेकै कारण यो विषयले स्थान नपाएको पार्टी सचिवालय स्रोतले बतायो ।
सचिवालयका नौ सदस्यमध्ये माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेताबाट झार्ने काम ओलीकै हस्तक्षेपमा भएपछि नेपाल अध्यक्ष प्रचण्डको कित्तामा उभिएका छन् । तर अर्का सदस्य वामदेव गौतम चाहिं प्रचण्डका कित्ताबाट ओली कित्तामा उछिटिएपछि सचिवालयको निर्णय तहमा आफू बहुमतमा रहेको व्यवहार ओलीले पछिल्लो समयमा पार्टीमा राम्रैसँग देखाएका छन् ।
त्यसको प्रभाव उपचुनावमा पनि देखिने निश्चित देखिएपछि प्रचण्ड नराम्ररी झस्किन पुगेका छन् । उनीहरु अहिले नेता नेता, वरिष्ठ नेता झलनाथ खनालको समर्थन जुटाउने कसरतमा लागेका छन् । नेपालको समर्थन पाउनेमा उनी आशावादी देखिएपनि खनालको हकमा मुश्किल परिरहेको उनीनिकट सुत्रले बतायो । त्यहीकारण नेपालसँगको नियमित भेटघाटलाई पछिल्लो समयमा प्रचण्डले बढाएका हुन् ।
संगठन विभाग प्रमुख पाउनकै निम्ति एकाएक ओली कित्तामा पुगेका गौतमलाई यो पटक प्रचण्ड भने प्रतिनिधि सभाको उपचुनाव कास्कीको २ नं. क्षेत्रबाट उठ्न टिकट दिने मुडमा देखिएका छन् । तर त्यसमा ओली पनि सकारात्मक रहेको बताइन्छ । तर टिकट लिएर चुनावमा जाँदा प्रचण्ड कित्ताबाट असहयोग भई बदलाको भुंग्रोमा पर्ने डर गौतममा राम्रैसँग जमेको अवस्था छ । किनकि ओलीले सरकार मात्र चलाउने, पार्टी चलाउने जिम्मा प्रचण्डलाई दिनुपर्ने भनी संगठन विभाग प्रमुखको पद पाउनुभन्दा पहिलेसम्म गौतम प्रचण्डको कित्तामा प्रस्तुत भइरहेका थिए । अहिले स्थिति उल्टो भइसकेको अवस्था छ । गौतम पार्टी र सरकार ओलीले चलाउँदा नै ठीक छ भन्नेमा पुगेका छन् । तर उपाध्यक्ष पदको भाकलमा परेका गौतम प्रचण्ड कित्ताको समर्थनबेकर सहज रुपमा भाकल पूरा नहुने विषयले चिन्तित् छन् ।
चिठ्ठा तानेर राष्ट्रिय सभामा दुई वर्षका लागि सांसद बनेर सरकारमा मन्त्री बनेकाहरुको निकट समयमै बिदा हुने र त्यसैमा नियुक्ति पाएर सांसद भएर मन्त्री बन्ने गौतमको धोको प्रचण्डभन्दा ओली कित्ताबाटै सुनिश्चित भएपछि गौतम अब हत्तपत्त प्रचण्डको कित्तामा फर्किने सम्भावना शून्य बराबर रहेको सूत्रको भनाई छ । त्यसकारण पनि उपचुनावीका उम्मेद्वारमा गौतम चर्चा धेरै हुने छैन । प्रचण्डले कास्कीबाट उठ्न दिएको हालैको सुझावलाई गौतमले उल्टो रुपबाट बुझ्नुपर्ने बताउने गरिएको उनीनिकटकाहरु बताउँछन् । त्यस मानेमा सरकारसम्म पुग्ने यात्रा धरापमा रहेको बुझ्न कुनै कठिनाई प्रष्ट बुझ् सकिन्छ ।
अर्काेतर्फ पछिल्लो सचिवालय बैठकमा प्रचण्डले पार्टीमा उपाध्यक्ष पद सिर्जनाको प्रस्ताव पास गराएर त्यसमा गौतमलाई प्रस्ताव गरेर फालेको कार्ड पूरा हातमा पर्न भने गौतमको लागि बाँकी छ । त्यसकारण उपचुनावबारे बस्ने सचिवालय बैठकमा कुन कित्तामा अडिने भन्ने कुराले गाैतम तनावमा छन् । अर्कोतिर गौतम उपाध्यक्षमा प्रस्ताव गरेर पार्टीमा सिनियर बनाउन खोजिएको भन्दै खनाल र नेपाल रुष्ट बनेका छन् ।
अब उपचुनावमा गौतम कसैगरी नलड्ने भएका छन् । त्यसमा ओलीले सकारात्मक संकेत दिएका छन् । यस्तो स्थितिमा अध्यक्ष प्रचण्ड उपचुनावमा पनि ४०/६० को भागबण्डा हुनुपर्ने अडानसहित सचिवालय बैठकमा प्रस्तुत हुने तयारी भइरहेको बताइन्छ । निर्वाचन आयोगले कार्तिक २६ लाई उम्मेदवार मनोनय दर्ताको समय तोकिसकेको छ ।
नौ सदस्यीय सचिवालयमा प्रचण्डसँग बादल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपाल समेत गरी चार मत मात्र देखिएका छन् । त्यसमा पनि नेपालको भर नपर्न बादल–प्रकाशले सुझाव दिँदै आएका छन् । नेपाल तत्कालीन एमालेका नेता हुन् । गौतमलाई साथमा लिन सक्दा आफू बलियो हुने मनोदशामा ओली र प्रचण्ड परेका छन् ।
शुरुमा काठमाडौंबाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष प्रणालीमा निर्वाचित भएका तत्कालीन एमालेका सांसद रामविर मानन्धरलाई राजीनामा दिन लगाई त्यहाँबाट उपचुनावबाट गौतमलाई सांसदमा विजयी बनाई मन्त्री बनाएर सरकारमा राम्रै पकड बनाउने प्रचण्डको योजना मुताविकै गौतम प्रचण्डको कित्तामा उभिन पुगेका थिए ।
त्यो बेला गौतमले प्रचण्डलाई पार्टीमा अध्यक्षको भूमिका देखाउन भन्दै बारम्बार सार्वजनिक रुपमा बोल्दै हिँडेका पनि थिए । उनैले हो ओलीले सरकार वा र पार्टी मध्ये एकको नेतृत्व छाड्नुपर्ने भनेर भाषणबाजी चलाएका । तर सरकार र पार्टी दुवै ओली चलाएकै राम्रो मानिरहेका छन् । त्यहीबेला देखि हो, पार्टीभित्र ‘राजनीतिक बेइमानी शुरु भयो’ भनेर चर्चा पाएको । भोलिका दिनमा चिठ्ठावालाको म्याद सकेपछिको खाली ठाउँ भर्ने बेला गौतम कति अटाउन सक्छन् भन्नेमा ‘बेइमानी’को प्रभाव पर्ने विषयमा नेताहरुबीच खासखुस चल्न थालिएको छ ।
ओलीसँग भने तत्कालीन एमालेका नेताहरु खनाल, गौतम, विष्णु पौडेल र ईश्वर पोखरेल गरी पाँच मत ढुक्कै छ । नेपाल लर्बरिएको खण्डमा ६ मत पुग्न सक्छ । यसै भन्न सकिन्न । किनकि पार्टीको वैचारिक र सैद्धान्तिक धारा स्थापनामा तत्कालीन एमालेकै लाइन हाबी रहँदै आएको छ । त्यसमा नेपालको समर्थन रहँदै आएको छ । यही आन्तरिक कलह अबको सचिवालय बैठकमै प्रकट हुने र त्यो कालान्तर उपचुनावमा व्यक्त हुने खतरा पार्टीभित्र चुलिँदै गएको पार्टी पंक्तिमा व्यापक बन्दै गएको छ ।