तोडफोडका अभियुक्त सांसद प्रमोद साह निर्दोष ठहर

काठमाण्डौं – जनकपुर विमानस्थलमा नीजी क्षेत्रका हवाई कम्पनी बुद्ध एयरको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको अभियोगमा मंगलबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका राष्ट्रिय जनता पार्टी (राजपा)को तर्फबाट सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रमोद साह थुनामुक्त भएका छन् ।
उनलाई अभियोगमाथि प्रहरीबाट पेश गरिएको मिसिलमाथि धनुषा जिल्ला भएको थुनछेक बहसपछि साह निर्दोष ठहरसहित साधारण तारेखमा रिहा भएका हुन् । बहस अदालतको इजलास नम्बर–३ मा भएको थियो । न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई सादा तारेखमा थुनामुक्त गर्न आदेश दिएको हो ।
साह रिहा भएसँगै राजपाद्वारा घोषित शनिबारको धनुषा जिल्ला बन्दको कार्यक्रमसमेत राजपा नेपाल धनुषाले फिर्ता लिएको छ । साहविरुद्ध जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाको प्रमुख सन्तोष ढकालले जाहेरी दिएका थिए । आइतबार जनकपुरबाट काठमाडौं आउने क्रममा बुद्धएयरले निर्धारित समयभन्दा दुई घण्टा उडान ढिलाई गरेपछि साहले कार्यालयका कर्ममचारीसँग आक्रोश पोखेका थिए ।
सैनिक हवाई उडान ऐनले व्यवस्था गरेको उडानसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो । ७ देखित ११ वर्षसम्मको कैद सजायँको माग मुद्दाका पक्ष ढकालले गरेका थिए ।