काठमाण्डौं – सरकारले दमन र धरपकड चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनविरोधी दलाल पूँजीवादी व्यवस्थाको सट्टा जनताको आफ्नै सत्ता वैज्ञानिक समाजवाद स्थापनाका लागि आफू र आफ्नो पार्टी जस्तोसुकै कठिनाई भोग्न र त्याग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

राप्ती ब्यूरोको बैठक तथा राजनैतिक प्रशिक्षण चलिरहेको बेला बैठकस्थलबाट बुधबार राति २ बजे आफ्ना पार्टीका केन्द्रीय सदस्य एवं मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्रबहादुर चन्दद ‘वीरजंग’ लगायत दुई दर्जना नेता कार्यकर्तालाई सरकारले निरंकुश र फासीवादी तरिकाले गिरफ्तार गरी झुठा मुद्दा चलाउन खोजिएको भन्दै गिरफ्तारीको निन्दा गरेका छन् ।

बिहिबारको मितिमा पार्टी केन्द्रीय समितिको लेटरप्याडमा महाससचिव विप्लवद्वारा जारी प्रेस वक्तव्यमा केपी ओली नेतृत्वको सरकार राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक लगायत सम्पूर्ण क्षेत्रमा पराजित र असफल भइसकेपछि जनवादी शक्तिविरुद्ध सर्वसत्तावादी र सामाजिक फासीवादी बन्दै श्रमिक जनताको पक्षमा राजनीतिक संघर्ष गरिरहेको नेकपामाथि हत्या, हिंसा र गिरफ्तारी लादिरहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेकपा जनताको अधिकार, स्वाधीनताको पक्षमा र राष्ट्रघात, भ्रष्टचार, करछली, महंगी, तस्करीविरुद्ध निरन्तर रुपमा लडिरहेको बेला फासीवादी सरकारले चरम रुपमा दमन चलाएकोले सशक्त प्रतिरोध गरिने जनाइएको छ ।

जनताको आफ्नै शासनसत्ता वैज्ञानिक समाजवाद स्थापनाका लागि आफ्नो पार्टी जेलनेल, त्याग र बलिदान स्वीकारेर हिँडिरहेको र नेता कार्यकर्ता पनि त्यसबाट प्रशिक्षित रहेकोले पार्टीले लिएको एकीकृत जनक्रान्तिविरुद्धको दमन, गिरफ्तारी र हत्याको सामना गर्ने प्रतिवद्धता महासचिव विप्लवले वक्तव्यमा स्पष्टसँग भनेका छन् ।

भ्रष्टचारमा डुबेको फासीवादी सरकारले चलाएको दमन र हत्याविरुद्ध जागरुक हुन र न्यायिक आवाज उठाउन संचारकर्मी, बुद्धिजीवि, कानूनविद्, मानवअधिकारवादी, देशभक्त, लोकतन्त्रवादी र कम्युनिष्ट क्रान्तिकारीहरुसँग उनले विशेष अपिल समेत गरेका छन् । नेकपा माओवादी पार्टीको खरानीबाट जन्म भएको र गद्दारी, ठक्कर र बलिदानबाट रत्तिभर विचलित नहुने र क्रान्तिकारीहरुमाथि दमन गर्नेहरु नै क्रान्तिमा परेर खरानी हुने चेतावनी दिँदै एकीकृत जनक्रान्ति विजयी भइछाड्ने जिकिर विप्लवले गरेका छन् ।

केसहरु वीरजंग, सुवास, ब्यूरो सदस्यहरु सविन, पाटन, सुन्दर, चन्द्र, सन्तोष, विश्व, विक्रमसहित दुई दर्जन नेता कार्यकर्तालाई सरकारले दमनसाथ गिरफ्तार गरेको जारी वक्तव्यमा जनाइएको छ । गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।