बेक्जिट प्रक्रियामा ईयू र यूकेबीच नयाँ सहमति

काठमाण्डौं – संयुक्त अधिराज्य (यूके) र युरोपेली संघ (ईयू)को वार्ता टोलीबीच ब्रसेल्समा हुन लागेको बैठकअघि ब्रिटेन युरोपेली संघबाट अलग हुने बिषयमा सहमति भएको छ ।
‘हामीले नयाँ सम्झौता गरका छौँ जसले स्थितिलाई नियन्त्रणमा ल्याएको छ’ प्रधानमन्त्री बोरिस जोनसनले ट्विटमार्फत भनेका छन् ।
दुवै देशले उक्त ब्रेक्जिट सहमतिको कानूनी भाषाबारे सहमतिको प्रयास गरिरहेका थिए। अहिले भएको भनिएको सहमति यूके र युरोपेली दुवै संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ । त्यसबारे ब्रिटेनको डिमोक्र्या्टिक यूनियनिस्ट पार्टी डियूपीले आशंका व्यक्त गरेको छ र त्यसलाई आफूले समर्थन गर्न नसक्ने जनाएको छ ।
नर्दन आयरिश पार्टीले अहिलेकै अवस्थामा आएका प्रस्तावलाई समर्थन गर्न नसक्ने भन्दै यसअघि विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीको घोषणापछि पनि सो दलले उक्त धारणा यथावत रहेको उल्लेख गरेको छ । तर युरोपेली आयोगका अध्यक्ष जँ क्लोड युङ्करले पछिल्लो सहमतिलाई निष्पक्ष र सन्तुलित भनेका छन् ।
उनले र जोनसन दुवैले आ–आफ्ना सांसदलाई उक्त सहमतिलाई समर्थन गर्न आह्वान गरेका छन् । ब्रिटेनको डिमोक्र्याटिक युनियनिस्ट पार्टी डियूपीले प्रधानमन्त्री बोरिस जोनसनले तयार पारेका नयाँ ब्रेक्जिट सम्झौताको मस्यौदा प्रस्तावलाई अहिलेको अवस्थामा समर्थन गर्न नसक्ने बताएपछि उनले ठूलो धक्का व्यहोर्नु परेको छ ।
नर्दन आयरल्याण्डमा आधारित उक्त पार्टीको समर्थन ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई ३१ अक्टोबरअगावै उनले तयार पारेका ब्रेक्जिट सम्झौता प्रस्तावप्रति संसद्को अनुमोदन हासिल गर्न निकै महत्त्वपूर्ण ठानिएको छ ।
डियूपीले ‘युक्तिसंगत’ सम्झौता हासिल गर्न आफूले सरकारसँगको सहकार्य जारी राख्ने बताएको छ । बोरिस जोनसन आफ्नो प्रस्तावमा युरोपेली संघ ईयूको समर्थन हासिल गर्ने महत्वपूर्ण वार्तामा भाग लिन जाँदै गर्दा यो नयाँ घटनाक्रम देखिएको छ ।