ज्ञानेन्द्रलाई चुनाव लड्न भट्टराईले दिए चुनौती

काठमाण्डौं – पूर्वप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपचुनाव लडेर देखाउन चुनौति दिएका छन् । चुनावका लागि राजनीतिक दल खोल्न पनि उनले शाहलाई सुझाएका छन् ।
पार्टीको आयोजनामा गोरखाको सदरमुकाममा बिहीवार पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै अध्यक्ष डा. भट्टराईले राजतन्त्र फर्कने सम्भावना शून्य रहेकोले ज्ञानेन्द्र शाहले चुनाव लडेर जनतामाझ आउन सुझाए ।
राजवादीतर्फ लक्षित गर्दै भट्टराईले राजतन्त्रको औचित्य समाप्त भएकै कारण जनताले गणतन्त्र ल्याएको बताउँदै राजतन्त्र फर्कने सपना नदेख्न चेतावनी दिए ।
‘पद आवश्यक छ भन्ने लाग्छ भने ज्ञानेन्द्र शाहले पार्टी खोलेर चुनाव लडे हुन्छ । चुनाव जितेर देश चलाए भैगो’ उनले भने । दशैंमा टीका लगाउनेको भीड लाग्दैमा राजतन्त्र आउने सपना नपाल्न उनले चेतावनी दिए ।
सरकारले विकास र समृद्धिको बाटो समात्न नसक्दा जनतामा निराश छाएको र यसले व्यवस्थाप्रति प्रश्न उठ्न खतरा रहेको भट्टराईको भनाई थियो ।