काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकारले ‘तिमी’ भनेर समाचार लेख्ने गरेकोमा गुनासो गर्दै भनेका थिए,‘‘पत्रकारले बाउलाई पनि तपाईँ भन्दैनन्, तिमीभन्दा माथि उठ्दैनन् ।’’ हिमाली साँस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् ।
प्रधानमन्त्रीले यो गुनासो मंगलबार पहिलोपटक गरेका भने होइनन् । यसअघि पनि राष्ट्रपति, प्रधानमन्त्री जस्ता पदका मानिसलाई तपाईँ नै भनेर सम्बोधन गरे हुन्थ्यो भन्दै आइरहेका थिए ।
मिडियामा सबैलाई एकरुपता होस् भनेर अघोषित रुपमा नै तिमी भन्ने थालिएको २०६२–६३ को आन्दोलनपछि हो । त्यसभन्दाअघि राजा, रानी वा युवराज वा राजपरिवारका अन्य सदस्यको बारेमा समाचार लेख्दा बक्सियोस् भनेर लेख्ने गरिएको थियो । अझ दैनिक पत्रिकाहरुमा समाचार वा तस्बिर नै पनि माथिल्लो भागमा दिनुपर्ने राजदरबारको अघोषित आग्रह हुने गरेको थियो ।
प्रधानमन्त्रीको मंगलबारको भनाइलाई लिएर फेरि एकपटक सामाजिक सञ्जालमा व्यङ्ग्य प्रहार भइरहेको छ– ‘‘प्रधानमन्त्रीलाई फेरि पुरानै शैलीमा फर्किने रहर लागेको त होइन ?’’
कतिले भने प्रधानमन्त्रीको कुरा ठीकै हो पनि भनेका छन् ।
लेखक खगेन्द्र संग्रौलाले कमरन काश्मीरको कवितालाई सांकेतिक रुपमा ट्विट गर्दै भनेका छन् :
मैले मूर्ति कुँदि नसकुन्जेल
तिमी पत्थर थियौ
र म थिएँ मूर्तिकार
जब मेरो काम तमाम भयो…
तिमी देवता बन्यौ
र म दलित ?
(कमरन काश्मिर)
संग्रौलाको सो ट्विटलाई रिट्विट गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए,‘‘गजब कविता ! आ–आफ्नो नाम संझेर ममः’ भनेका थिए ।
बृहत् नेपाली शब्द कोशमा तँ, तिमी र तपाईँका सन्दर्भमा यसो भनिएको छ :
तँ– पुरुष एक वचनमा प्रयोग हुने, तिमीभन्दा सानोलाई बुझाउने निम्न आदरार्थी शब्द ।
तिमी–द्वितीय पुरुष एक वचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईँभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द ।
तपाईँ– औपचारिक प्रसंगमा आफूभन्दा मान्यजनलाई ‘तिमी’ भन्दा माथिल्लो दर्जामा राखेर प्रयोग गरिने द्वितीय पुरुष, एक वचनको आदरार्थी शब्द ।
प्रधानमन्त्री ओलीले बुधबार नेकपाको चियापान कार्यक्रममा सामाजिक सञ्जालको प्रस्तुतीमा पनि आपत्ति जनाएका थिए ।
ट्विटरमा सन्तोष खडेरीले लेखेका छन् :
राणाकालमा मिस्टर भनिन्थ्यो नि पछि मातृका सरकारले मन्त्रीलाई माननीय पुरुषलाई श्रीमान् र महिलालाई श्रीमती बनाएको हुन केर । प्रधानमन्त्री ओलीले खड्ग प्रसाद नभनी केपी लेख्छन् अब उबेलाकै मिस्टर चाहियो कि ?
ट्विटरमै रमेश पराजुलीले लेखेका छन् :
महाराजले अब आइन्दा ख्वामित र भारदारहरूलाई मौसूफ र आइस्यो, गैस्यो लगाउनू भन्ने उर्दी जारी गर्दिस्यो, ठेट्नाहरूलाई तह लाउन परो । हेप्ने नि हद हुन्छ नि !
ट्विटरमै घनेन्द्र ओझाले महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्’ र नाट्य सम्राट बालकृष्ण समको ‘दुःखीका घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ लेखेको प्रसंग उद्धृत गर्दै भनेका छन्,‘‘यी साहित्यकारले त प्रधानमन्त्रीज्यू ईश्वरलाई समेत ‘तिमी’ त छाडौँ, सोझै ‘तँ’ भनेका रहेछन् । लौ न सल्लाहकार (हल्लाकार पो हो कि ? ) ज्यूहरू, प्रधानमन्त्रीज्यूलाई यी दुई पद्य पढ्न दिनुस !’’
पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘‘भाषाशास्त्रीहरूले बोलून्–प्रम ओलीमा नेपाली भाषा र ब्याकरणको ज्ञान रहेको देखिएन । एकवचनको संज्ञालाई बहुवचनको क्रियामा लेखियो भने आदरार्थी वाक्य हुन्छ । यस्तो वाक्य अपमान गरेको वा तिमी भनेको हुँदैन । जस्तो ‘प्रम ओली आएका छन् ।’ (नाम एकवचन, क्रिया बहुवचनको) आददरार्थी । उनी आए (आदर गरेको) ।
प्रम ओली आयो (नाम एकवचन, क्रिया एकवचन) आदर नगरेको । उ आयो (आदर नगरेको) । दोस्रो कुरा, सनातन हिन्दू धर्म, परम्परा, संस्कृत भाषा, संस्कृति, इतिहास, संस्कृत शिक्षा र साहित्य मास्नमा योगदान गर्ने नेपालका कम्युनिष्टहरू नं एकनै हुन् । आज प्रमले समाजमा मर्यादा, सम्मान, नैतिकता, सुसंस्कार र संस्कृति हराएको देखेर रोईकराई गर्नुभन्दा आफ्नो विगतका तमाम गलत काम कुराहरू बारेमा पश्चाताप गरेर मुलुकको गरिमा, इतिहास र संस्कृतिको पुनरूत्थानमा लागे हुन्छ । आज मुलुकका अधिकांश बेहालको जिम्मा यिनै नेताहरूले अगालेका र कार्यकर्तालाई सिकाएका कुसंस्कार र तिनका निरन्तरका ३ दशकका विगतका कुशासनले लिनुपर्छ ।’’