काठमाण्डौं – गैरआवासीय नेपाली संघ ( एनआरएन) को बिश्व सम्मेलन निरन्तर विवादीत बन्दै गैरहेको छ । 

गैरआवासीय नेपाली संघ एनआरएनको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दाविका साथ मतदाता नामावलीमा छानबिन गर्न भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । 

निर्वाचनको क्रममा एनआरएनको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पुर्व अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन । 
उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पुर्ण प्रक्रिया स्थगन गर्न माग गरिएपनी त्यसो हुने सम्भावना निकै न्यून रहेको जनाइएको छ । बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भएपनी मतदाता नामावलीको बिषयमा उजुरी परेपछि निर्वाचन केही बेर हुने नहुने अन्यौल देखिएको थियो । 
यो नै एनआरएन बिश्व सम्मेलनमा देखीएको पहिलो विवाद भने होइन, एक अष्ट्रेलियन एनआरएनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मै मदिरा खाएर आफ्नो चटक देखाउन सुरुवात गरिसकेका थिए । यो सँगै सुरुवात  भएको विवादको शृङ्खला संस्थापक अध्यक्षको बहिष्कार सँगै, सुन्दरीको प्रयोग र अपारदर्शी खर्च प्रमुख विवाद हुन । मतदाता नामावलीमा धाँधली भएको दाबीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ। यसबाट उम्मेदवारी दर्ता अनिश्चित बनेको छ।

‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ ।

गैरआवासीय नेपालीसम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख गरिएको छ ।

परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउन्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन् ।