जनकपुरको प्रदर्शन बुद्ध एयरविरुद्ध केन्द्रित, कार्यालयमा तालाबन्दी

जनकपुरधाम – निर्धारित समयमा उडान नगरेको कारण यात्रुले प्रशासनविरुद्ध आक्रोश पोखेको निहुँमा सांसद प्रमोदकुमार साहविरुद्ध पक्राउ गर्न जाहेरी दिने बुद्ध एयरविरुद्ध जनकपुरमा आन्दोलन चर्किएको छ ।
दुई नम्बर प्रदेशको अस्थायी राजधानी समेत रहेको धनुषाको जनकपुरधामस्थित जिल्ला अदालतले सांसदलाई थुनामा राख्न बुधबार प्रहरीलाई अनुमति दिएपछि राजपाका नेता कार्यकर्ताले उनको रिहाईको माग गर्दै मंगलबारबाट शुरु गरेको विरोध प्रदर्शन बुधबार झनै उग्र बनेको छ ।
बुधबार बिहान रामानन्दचोकमा बिहान ८ देखि ९ बजेसम्म साहका कार्यकर्ताले टायर बालेर चक्का जाम समेत गरेका छन् । प्रदर्शनकारीले समयका उडान नगरेर यात्रुलाई झुक्याउने बुद्ध एयरलाई तत्काल कारवाहीप गर्नुपर्ने र साहलाई निसर्त रिहा गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन् ।
यही आइतबार जनकपुरबाट बुद्ध एयरको उडानबाट काठमाडौं आउने क्रममा टिकटमा उल्लेखित समयभन्दा २ घण्टा ढिलासम्म उडान नगरेको भन्दै साहले प्रशासनमा आक्रोश पोखेका थिए । सोही क्रममा कर्मचारीमाथि दुव्र्यवहार र कार्यालयमा तोडफोड गरेको भन्दै प्रशासनले साहविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
सोही आधारमा प्रहरीले जिल्ला अदालत धनुषाको अनुमति लिएर साहलाई काठमाडौंबाट हिजो मंगलबार पक्राउ गरी जनकपुर पुर्याई उड्डायनसम्बन्धी कसुरमा मुद्दा चलाउन अनुसन्धान थालिएको छ ।
साहको रिहाईको माग गर्दै शुरु भएको सरकारविरुद्धको प्रदर्शन क्रमशः बुद्ध एयरविरुद्ध केन्द्रित हुँदै गएको छ । आजै दिउँसो प्रदर्शनकारीले छापामार शैलीमा कार्यालय समयममै धनुषाको जनकपुर उपमहानगरपालिकाकाे वडा नं. ४ जनकपुरधाममा रहेको बुद्ध एयरको नगर कार्यालयमा ताला लगाएको छ । सांसद साहको रिहाई नभएसम्म तालाबन्दी जारी राख्ने प्रदर्शनहरुले बताएका छन् ।