काठमाण्डौं – आइतबारका दिन जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साहलाई हिरासतमा राख्न ४ दिनको म्याद थप गरेको छ ।
महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौंको टोलीले मंगलबार दिउँसो पक्राउ गरी जनकपुरधाम पठाएका सांसद साहलाई अनुसन्धानका लागि जिल्ला अदालत धनुषाले ४ दिने म्याद थप गरिएको हो । साहमाथि लागेको अभियोगबारे प्रहरीले अनुसन्धान गर्न म्याद थप भएको हो ।
४ दिनमा पनि अनुसन्धान पूरा हुन नसके अरु थप म्याद थपको लागि पुनः अदालत पेश गरिनेछ । उनीमाथिको अभियोगको प्रकृति फौजदारी नभएकोले सांसद पदबाट निलम्वित नहुने भएको छ ।
आइतबार धनुषाको जनकपुरबाट बुद्ध एयरको उडानबाट काठमाडौं फर्कने क्रममा एयरलाइन्सले निर्धारित समयभन्दा २ घण्टा ढिलाई गरेपछि बिरामी समेतका आफन्त र साहले बुद्ध एयरको त्यहाँको प्रशासनसँग आक्रोश पोखेका थिए ।
सोही आधारमा प्रशासनले सार्वजनिक कसुर गरेको अभियोगमा प्रहरीमा उजुरी दिएको थियो । सोही आधारमा प्रहरीले साहलाई काठमाडौंमा आइपुगेको बेला मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी धनुषा चलान गरिएको थियो ।
उता सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा बिहानै देखि समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् । टायर बालेर विरोध गरेका हुन् । जनकपुरको रामानन्दचोकमा बुधबार बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गर्दै पार्टीका कार्यकर्ता र समर्थकहरुले टायर बालेर चर्का नाराबाजीसहित प्रदर्शनन गरेका थिए ।