काठमाण्डौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं बिश्वसम्मेलन सुरु भएको छ । सम्मेलनको एक भब्य समारोहका बिच राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन पनि तर एनआरएनका संस्थापक अध्यक्ष एंब प्रमुख संरक्षक डा. उपेन्द्र महतोले भने सम्मेलन बहिष्कारको घोषणा गरेका छन् । 

एनआरएनमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेपछि महतोले सम्मेलन बहिष्कार गरेका हुन् । नवौं महाधिवेशनमा संघको अध्यक्षका उम्मेद्ववारले संघको स्थापनाको पवित्र उद्देश्य विपरित राजनीतिक ध्रुवीकरण बढाएकोमा महतो रुष्ट बनेका हुन् ।

विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजनीतिक पार्टीको भाृत संगठनजस्तो बनाउन नहुने महतोको सुरुदेखिको तर्क छ ।

महतोले विदेशमा बस्ने नेपालीका लागि आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भैसकेको संस्थाभित्र दलगत राजनीति छिराएर विभाजित गर्ने काम कसैले पनि गर्न नहुने अडान राख्दै आएका छन् ।

संघको स्थापना भएको १६ वर्षको अवधिमा बाहिर प्रवासमा बस्ने नेपाली समुदायलाई एउटै मालामा जोड्न सफल भएको गर्विलो इतिहासमा दाग लगाउनेगरी नेतृत्वको लागि राजनीतिक धुव्रीकरण र खिचातानी गर्नु अस्वभाविक रहेको पनि महतोको ठहर छ। संघमा आवद्ध भएकाहरुले मातृभूमीप्रतिको दायित्व भुल्न नहुने उनको तर्क छ ।

महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिवेला उनले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेका थिए ।

‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सुरु भएको सम्मेलनमा विश्वभरबाट २५ सय प्रतिनिधि सहभागी भएको बताइएको छ । दुई दिनसम्म चल्ने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ ।

विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन्। मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ । आगामी नेतृत्वका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा सम्मेलन आयोजना भएको हो ।