काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवसीय नेपाली संघ (एनआरएनए) नेपालको विकासमा सहयोगी बन्नुपर्ने बताएकी छिन्। एनआरएनएको नवौं विश्व सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले एनआरएनले नेपालको परिचय विश्वभर पुर्‍याएको उल्लेख गर्दै अब नेपालको विकासमा सहयोगी बन्नुपर्ने धारणा राखेकी हुन् ।

विश्वभरबाट प्रविधि र ज्ञान भित्र्याउन र देशको आर्थिक विकासमा लाग्न राष्ट्रपति भण्डारीले एनआरएनएलाई आग्रहसमेत गरिन् । ‘अहिले नेपालमा लगानी आवश्यक छ, यसमा एनआरएनएको भूमिका महत्वपूर्ण हुन्छ,’ राष्ट्रपति भण्डारीले भनिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको चाहाना पूरा गर्न एनआरएनएको आवश्यकता पर्ने भएकोले नेपाल सरकारले हरेक समयमा सहकार्य गरिररहेको बताए। एनआरएनएले नेपालको हरेक दुःखमा साथ दिएको स्मरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको समृद्धिको अभियानमा अझै ठूलो साथ, ज्ञान र प्रविधि ल्याउने आशा व्यक्त गरे ।

अहिले नागरिकतासम्बन्धी विधेयक संसद्‌मा संशोधनका लागि प्रस्ताव पेस गरिसकेको बताउँदै यसले एनआरएनएलाई नेपालको महत्व प्रकाश पार्ने खुलाए। ‘नेपालमा स्थायित्वबाट उच्च आर्थिक वृद्धि र समृद्धिको बाटोमा एनआरएनएको साथ र सहयोग हुनेमा ढुक्क छौं,’ मन्त्री ज्ञवालीले भने ।

एनआरएनएमार्फत लगानी भित्र्याउने र धेरैभन्दा धेरै पर्यटक भित्रिनमा सहयोग मिल्ने अपेक्षासमेत उनले व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा लगानी भित्र्याउन एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने धारणा राखिन् । उनले महासंघ र एनआरएनएको सहकार्य जारी रहेको र अगामी दिनमा थप बढ्दै जाने बताइन् ।

कार्यक्रममा बोल्दै एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले दोस्रो पुस्ताका हजारौं नेपाली नागरिकताविहीन भएकोले सरकारले यसमा सहज बतावरण बनाउन माग गरे । एनआरएनएको सीप र प्रवधि भित्र्याउने अझै वातावरण तयार नभएको भन्दै उनले यसमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष भवन भट्टले नेपालको समृद्धिको यात्रामा सधैं साथ दिने स्पष्ट पारे । आजदेखि सुरु भएको नवौं विश्व सम्मेलनमा विश्वका ८१ देशबाट झन्डै २ हजार ५ सयभन्दा बढी एनआरएनएका सदस्यहरु सहभागी भएका छन् ।