काठमाण्डौं – तत्कालीन नेकपा (एमाले) र नेकपा (माके)बीच एकतापूर्व भएको केपी ओली र प्रचण्डबीच पालैपालो अढाई वर्ष गरी सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको चर्चा सतहमा आइरहेकै छ ।

यस्तैबीच गत दुई तीन महिनादेखि प्रचण्डले प्रम ओली (पार्टी अध्यक्ष समेत)ले सहमतिको पूर्ण पालना गर्नेछन् भन्ने विश्वास आफूले लिएको बताएका थिए । यतिसम्म कि एकतापछि बनेको नेकपाका प्रभावशाली नेता मानिने अर्थात सचिवलाय सदस्य वामदेव गौतमले प्रचण्डलाई अध्यक्षजस्तो बन्न र दुई जनाबीचको सहमति कार्यान्वयन नराउने खेलमा कोही लाग्न नहुने सार्वजनिक रुपमा अभिव्यक्ति नै दिँदै आएका थिए । तर संगठन विभागको प्रमुख पाएपछि गौतम अहिले ओलीको कित्तामा विलय हुन पुगेका छन् ।

मन मिल्दासम्म प्रचण्डले नै गौतमलाई प्रत्यक्ष रुपमा चुनावमा नलड्न र चिठ्ठा तानेर राष्ट्रिय सभामा सांसद बनेका दुई वर्षे कार्यकाल सकेपछि त्यहाँ लैजाने आश्वासन दिएका थिए । सोही आधारमा भनेका हुन् गौतमले प्रचण्डलाई प्रधानमन्त्रीको लाइन समात्न र अध्यक्षको भूमिका देखाउन उक्साएका । तर ओलीकै प्रस्तावमा पार्टी संगठन विभाग प्रमुख जिम्मेवारी पाएपछि गौतम एकाएक ओली कित्तामा टाँसिन पुगेका हुन् ।

अहिले प्रचण्ड सचिवालयभित्र अल्पमतमा परेका छन् । पार्टीको विभाग जिम्मेवारी टुंग्याइएसँगै प्रचण्ड अल्पमतमा परेका हुन् । त्यसअघिसम्म राम्रो जिम्मेवारी पाउन गौतमले प्रचण्डलाई साथ दिएका थिए । अब भने त्यस्तो अवस्था छैन । नौजनाको सचिवालयमा सदस्य झलनाथ खनाल पनि पार्टीका वरिष्ठ नेताको उपमा पाउने बित्तिकै ओलीनै नेता मान्न पुगेका छन् । सचिवालय अर्का सदस्य माधवकुमार नेपाल वरिष्ठबाट ओरालिएपछि अध्यक्ष ओलीसँग सन्तुष्ट त छैनन् तर अर्का अध्यक्ष प्रचण्डसँग भरोसा गर्न सकेका छैनन् । नेपाल–प्रचण्ड भेटघाट पनि पातलिँदै गएको निकटस्थ बताउँछन् ।

सचिवालय अर्का सदस्यहरु पार्टी महासचिव विष्णु पौडेल र नेता ईश्व पोखरेल ओलीकै कित्ता अडिग छन् । सदस्य नेपाल पनि पूर्वएमालेका प्यार रहेका कारण निर्णायक बेला प्रचण्डलाई भन्दा ओलीलाई नै साथ दिने देखिन्छ ।

त्यसकारण अहिले गत भदौको तेस्रो सातामा सिंगापुरमा स्वास्थ्योपचार गरेर फर्किएपछि यताका दिनमा प्रचण्डसँग आफ्नै पूर्व नेकपा (माके)को तर्फबाट हाल सचिवालय सदस्य रहेका रामबहादुर थापा ‘बादल’ र नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को बाहेक ठोस रुपमा साथ छैन । त्यसैले हो, झोक चलरै गौतमलाई कास्कीको २ बाट उपचुनावमा लड्न प्रचण्डले सुझाव दिएका । तर समय धेरै घर्किसकेकोले चुनाव नलड्न ओलीले दिएको भित्री सुझावलाई नै गौतमले पालना गर्नेछन् र राष्ट्रिय सभाका दुई वर्षे चिठ्ठावाला सांसदहरुको कार्यकाल सकेपछि त्यस ठाउँमा लैजाने आश्वसनलाई विश्वास गर्नेछन् ।

यस्तैबीच प्रचण्डले पाँच वर्षमा अढाई वर्षका दरले पालैपाले सरकारको नेतृत्व गर्ने अर्थात प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयनमा गराउन सक्छन् कि सक्दैनन् ? भन्ने प्रश्न तत्कालीन नेकपा (माके) वृत्तमा व्यापक रुपमा चर्चाको विषय बन्दै गएको छ । किनकि संगठन विभाग प्रमुखको जिम्मेवारी पाउन तत्कालीन माके र एमाले इतरका पक्षबीच दाबी गर्न नछाडिएपछि नौ सदस्यीय सचिवालय संख्यातर्फ संकेत गर्दै ओलीले ६÷३ को निर्णय लागू हुने बतएका थिए । त्योबेलासम्म ओलीले प्रचण्ड, बादल, र प्रकाशबाहेकको समर्थन आफ्नो पक्षमा ल्याइसकेका थिए । सोही आधारमा गौतमले संगठन विभाग प्रमुखको जिम्मा प्राप्त गरेका थिए ।

दशैं चाड सकेको केही दिन मात्र भएको छ । यस्तैबिचमा चिनियााँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमण सकिएको छ । सोही बेला पनि नेपाली कांग्रेस नेता शेरबहादुर देउवालाई शुरुमै सीले एक्लै भेट गरे । त्यस्तै चाहना राखेका प्रचण्डलाई नेकपाकै नेताहरु खनाल, नेपाल लगायतले विरोधका सीसँगको शुरुमै एक्लै भेटबाट रोके । खनाल, नेपाल लगायतसँगको सामूहिक भेटपछि मात्र प्रचण्डलाई सीसँग भेट गर्न दिइयो । पूर्वप्रधानमन्त्री रही पार्टीका वहालवाला अध्यक्ष समेत रहेका अध्यक्ष प्रचण्डलाई भेटघाटमा पनि पछाडि धकेलिदिए यसले गर्दा प्रचण्डलाई पार्टी आन्तरिक जोडघटाउको हिसाबमा थप चोट पुर्याएको छ ।

यसबाट अढाई वर्षपछि प्रधानमन्त्री बन्ने पालो आफ्नो ठानेर पर्खिरहेका बेला प्रचण्डलाई थप चुनौति बनेर खडा भएको अनुमान राजनीतिक वृत्तमा गरिएको छ । साथै अढाई वर्षपछि पनि प्रधानमन्त्री पद नछाड्ने संकेत ओलीले केही विदेशी दूतमार्फत दिन थालेका छन् । त्यो पनि चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण आउनुपहिल्यै काठमाण्डौं बाट ।

यही दशैंको अष्टमी अर्थात असोज १९ गतेका दिन नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले दशैंको सन्दर्भमा पारेर डिनरको आयोजना गरेका थिए । डिनरमा संचार क्षेत्र र आफ्ना निकटस्थहरुलाई सीमित संख्यमा बोलाइएका थिए । डिनर काठमाण्डौंकै एक होटलमा भएको थियो । जम्मा भएदेखि डिनर लिइरहेकै बिचमा राजदूत पुरी निम्तालुहरुसँग निकै राजनीतिक विषय र चासोसाथ गफिए । गफगफकै क्रममा पूरीले प्रचण्ड अब कसैगरी पनि प्रधानमन्त्री हुन नसक्ने दाबी गरे । उपस्थित सबैले त्यो लाइन भारतकै भएको बुझे । केही संचारकर्मीले त्यसका कारण र आधारबारे खुलाउन अलिक पेलेपछि राजदूत पुरीले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने खेलमा प्रधानमन्त्री स्वयम् ओली रहेको खुलस्त गरेका थिए । पुरीले प्रचण्ड क्रमशः चीनतर्फ ढल्किँदै गएको बुझाई दक्षिणी कित्तालाई राम्रो परेको छनक समेत दिए । जुन विषय भारतको लागि अस्वीकार्य बन्दै आएको छ ।

स्रोतले भन्यो ‘राजदूत पुरीले अबको प्रधानमन्त्रीमा प्रचण्ड हुँदैहुन्न भन्नेमा पीएम ओलीले रहेको त्यहाँ खुलासा गरे । त्यसैका लागि रहेछन् पार्टीभित्रका मुख्य नेताहरु सबैका सेटिङ ।’ सीसँग शुरुमै प्रचण्डलाई भेट गर्न नदिने खेल प्रम ओलीकै रहेको स्रोतको दाबी छ । सीअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङसँग प्रचण्डले काठमाडौंको एक होटलमा एक्लै भेट गरेको विषयदेखि नै ओली असन्तुष्ट थिए । प्रचण्डले पार्टीमा प्रभाव जमाउन खोजेको आशंका ओलीमा बाक्लै रहेको बताइन्छ ।