काठमाण्डौं – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले महरालाई आज दिउँसोसम्ममा अदालतमा उपस्थित गराउने तयारी भइरहेको बताए ।

महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । यसमा महराको पक्राउ गरेको दिनदेखिको समय जोडिनेछ ।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । एसएसपी सुवेदीले भने, ‘‘म्याद थप भएपछि अस्पतालले उहाँलाई डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना गर्छौ ।’’

महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिएका थिए ।