रात्रीभोजको त्यो ‘चियर्स’ जसले धेरैको मन छोयो

काठमाण्डौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्मानमा शनिवार साँझ होटेल सोल्टीमा आयोजित रात्रीभोजको शुभारम्भ गर्दै दुईराष्ट्रपतिले चियर्स गरेको दृश्यले सबैको मन छोएको छ ।
चियर्स गर्ने क्रममा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीको गिलासभन्दा तल राखेर आफ्नो शिष्टता प्रदर्शन गरेपछि उनले त्यहाँ प्रशंसा पाएका थिए । चियर्स गरेको फोटो सार्वजनिक भएपछि धेरैले राष्ट्रपति सीको थप प्रशंसा सामाजिक सञ्जालमा गरेका छन् ।
राष्ट्रपति भण्डारीले चियर्स गर्दा राष्ट्रपति सीको गिलाससँग बराबरी मिलाउन खोजे पनि राष्ट्रपति सीले शिष्टता देखाउदै ग्लास अलिकति तल सारेको दृश्यमा देखिन्छ । यो दृश्यले नेपाली नेताहरुलाई पनि पाठ सिकाएको बुझिन्छ ।
आफूभन्दा ठूलाबडासङ्ग देखाउनुपर्ने व्यवहारबारे खानपिन, बोलचाल, वादविवाद वा तर्कवितर्कमा, बस्दा तथा हिंड्दा, उमेर वा पदीयरूपमा ठूलो ठानेको व्यक्तिलाई पहिलो मौका दिनुपर्ने हाम्रो पनि संस्कार रहँदै आएको छ ।तर पछिल्ला दिनहरुमा नेपाली समाज यो संस्कारबाट क्रमश च्युत हुँदै गएको देखिन्छ ।
राष्ट्रपति सीको यो दृश्यले नेपाली समाजलाई फेरी झक्झकाएको छ । दृश्यमा चियर्स गर्दा राष्ट्रपति भण्डारीले समकक्षी मानेर गिलासको लेबल एउटै बनाउन खोज्दा राष्ट्रपति सीले सम्मानपूर्वक आफ्नो गिलासको तह तल सारेको देखिन्छ ।
रक्सी खाँदा चियर्स किन गरिन्छ ? कहिलेदेखि शुरु भयो होला ?
यो चियर्स शब्दको अर्थ के होला त ? यो कुरा भने कमैलाइ थाहा छ । अझ संसारमा रक्सी खानुपूर्व चियर्स कहिलेदेखि शुरु भयो होला भन्ने बारेमा पनि त्यति जानकारी पाईंदैन । त्यसो त संसारमा रक्सी कहिलेदेखि खान थालियो भन्ने पनि जानकारी पाइँदैन ।
चियर्स गर्ने चलनका बारेमा धेरैथरीका मान्यताहरु पाइन्छन् । एउटा चर्चित भनाईमा दुश्मन सेनाहरुको छलबाट जोगिन चियर्स गर्ने चलन चलेको हो । यो कथन अनुसार, घुमन्ते फिरन्तेयुगबाट कृषि युगमा संक्रमणको चरणमा कबिला, सामन्तहरुका बीच निकै युद्ध चर्किने गर्दथे । यी युद्धहरु सम्झौतामा टुंगिने बेला दुबै पक्ष कुनै चौरमा बसेर सम्झौता भोज गर्ने गर्दथे ।
यसरी सम्झौता गर्दा वल्लो छेउमा बसेकाहरुले उपहारस्वरुप उतापट्टि ठूलो कचौरामा रक्सी पठाउने गर्थे । तर कहिलेकाहिँ युद्धको नियमलाई उल्लंघन गर्दै कुनै पक्षले रक्सीमा विष मिसाउने गर्ने समेत गर्थे । जसले गर्दा एकपक्षको सेनापति मर्ने अवस्था हुन्थ्यो ।
यो स्थिति देखिएपछि पछि गएर दुबै सेनापतिहरु सँगै बस्ने, दुबै कचौराको रक्सी एक अर्कामा पोखिने गरी जोडले एक अर्कामा ठोक्काउने र त्यसपछि एक घुट्को सेवन गरेर मात्रै तल राख्ने चलन चल्यो । यसो गरेको खण्डमा यदि विष नै मिलाएको भएपनि दुबै पक्ष मर्ने सम्भावना रहन्थ्यो । तर केहीले भने यसरी चियर्सको चलन चलेको स्वीकार्दैनन् ।
चियर्सको शाब्दिक अर्थ मुखमुद्रा हो । अर्थात् हामीले हाम्रो मुहारको मुद्रा राम्रो, हँसिलो बनाउनुलाई चियर्स भनिन्छ । पछि मध्यकालिन युगमा आईपुग्दा चियर्स निकै सम्मानित र प्रचलित चलन बन्न पुग्यो ।
१७ औं र १८ औं शताब्दीमा त चियर्स गर्ने परम्परा यति प्रचलित भयो कि पार्टीमा सबैलाई समानरुपमा चियर्स गर्न पाइएन भने त्यसले ठूलो झगडाहरु समेत निम्त्याए । सबैलाई समानरुपमा चियर्स गर्न दिए त्यो समान सम्मान गरेको प्रतिक समेत मानियो । ग्रीक कवि इयुबुलुसले प्राचिनकालमा रक्सीका बारेमा राम्रोसँग आफ्नो पुस्तकमा यसबारे वर्णन गरेका छन् ।
राजा महाराजाहरुका लागि को सँग चियर्स गर्ने, कसरी गर्ने कुरामा समेत नियम र संस्कारहरु बने । प्राचिन रोममा इसापूर्व ४५० वर्षमा पहिलोपटक चियर्स गरेको रेकर्ड भेटिएको एउटा पुस्तकमा उल्लेख छ । मध्यकालमा चियर्सलाई सम्मानको रुपमा लिइने र कुनै व्यक्तिलाई सजाय दिँदा चियर्स गर्न नपाईने सम्मको सजाय दिइने गरिन्थ्यो ।