काठमाण्डौं – पूर्वअरनिको यातायात प्रा.लि.को ‘कोशीपारि यातायात’ले प्रहरी चेकिङ छलेर तोकिएभन्दा तीनगुणा बढी यात्रु चढाएर बस चलाइरहेको पाइएको छ ।

चेकिङ छल्ने क्रममा गलत रुट भएर काठमाडौं फर्कँदै आइरहेको सोही प्रा.लि.को बस काभ्रेको चौंरीदेउराली गाउँपालिकाको कुर्थलीमा हिजाे अाइतबार गम्भीर दुर्घटनाबाट जोगिएको छ । उक्त बसमा तोकिएभन्दा तीन गुणाबढी संख्यामा यात्रु चढाइएको र कानूनविपरीत अत्यधिकमा मात्रामा छतमा यात्रु राखिएका कारण ओभरलोड भई गम्भीर दुर्घटना नजिक पुगेको हो ।

यसअघि अरनिको यातायात सेवा समितिको नामबाट काभ्रेको ‘कोशीपारी यातायात’ नाममा रामेछापको डोप्ला, पासेवान, काभ्रेको किल्पूबगर, काफ्ले, कात्तिके देउराली, मादनकुडारी लगायत क्षेत्रमा यात्रुबाहक बस चलाउँदै आइरहेकोमा हाल प्रा.लि. भएको हो ।
ग्रामिण क्षेत्रमा जाने बस काठमाडौंको पुरानो बसपार्कबाट छुट्दै आइरहेको छ । यसरी दशैंमा घर गएकाहरु काठमाडौं उपत्यकामा फर्कने क्रम दशैं सकेसँगै जारी छ । सरकारले बसको छतमा यात्रु चढाउन बन्देज लगाएपछि पनि कोशीपारि यातायातले छतमा यात्रु चढाउन छाडेको छैन ।

यसैबीच आतबार रामेछापको डोप्लाबाट कोशिपारी हुँदै फर्कने ३६ सिटको बसले १ सय १६ जना यात्रु बोकेर आएको बेला सलम्बु कटेर केहीवर कुर्थली भन्ने स्थानमा आइपुग्दा मुश्किलले पल्टिनबाट जोगिएको यात्रु अनिता लामाले बताइन् । त्यसपछि दर्जनौं यात्रु ओर्लिएर बस अगाडि बढाएका थिए । त्यसबाट दुर्घटना टरेको बताइन्छ । माथिल्लो नियमित रुटको तुलनामा तल्लो रुट निकै जोखिमपूर्ण मानिन्छ । माथिल्लो रुट डोरखानी, बगर, पासेवान जाने फर्कने बस चल्ने गर्छ ।

सलम्बुहुँदै गुम्मडी–चौवास भएर फर्कनुपर्ने बस चौबासको प्रहरी चौकीको चेकिङ छल्न गुम्मडीदेखि तल्लो बेरुटको कुर्तलीको कच्ची बाटो फर्कने क्रममा दुर्घटनानजिक पुगेको हो । त्यो बाटोबाट सिधै भुम्लुदेखि तल्लो भेग सल्ले डाँडामा जोडिने भएकोले नियमित माथिल्लो बाटो भुम्लु–चौवास–गुम्मडी रुट परिवर्तन गरेर गलत रुटबाट आएको हो ।

तल्लो रुटमा प्रहरी चेकिङ नपर्ने र छतमा चढाउन पाइने भएपछि चालकले सो बाटो रोजेका हुन् । बस संख्या थप गर्न अटेर गर्दा यात्रुको चाप बढेर ओभरलोड भई गम्भीर दुर्घटना हुने क्रम नरोकिएको भुम्लुबासी बताउँछन् । कोशीपारि यातायातका कतिपय बसले यात्रु बढी अटाउन चालकपछाडिको दुई वटा सिट समेत निकालिएको पाइएको छ ।

यसविषयमा जिज्ञासा राख्दा प्रा.लि.का अध्यक्ष चित्रबहादुर कुँवरले आफूहरुले स्टाफलाई छतमा यात्रु नचढाउन कडाईसाथ निर्देशन दिँदै आएको बताए । ‘हामी छतमा यात्रु चढाउँदैनौं, कतिपय स्थानमा स्टाफले बद्मासी गरेका हुन सक्छन् । जसले चढाएपनि गलत छ’ अध्यक्ष कुँवरले अनलाइनपानासँग भने ।

दशैं मनाएर उपत्यका फर्कदै गर्दा गएको शुक्रबार सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका–१० स्थित तिर्खुमोडमा बस ओभरलोडका कारण ब्रेक फेल भई भीरबाट खस्दा १४ जनाको ज्यान गएको थियो । सय भन्दा बढी यात्रु घाइते भएका थिए । उक्त बस हेलम्बु यातायातद्वारा संचालित थियो ।

२०७१ साउन ३१ गते कात्तिके देउराली जाँदै गरेको बस कोशीपारि दुर्घटना पर्दा २९ जनाको ज्यान गएको थियो । सोही बेलादेखि छतमा यात्रु चढाउन बन्देज लगाइएको थियो । तर भाडाको लोभमा बस स्टाफले प्रहरीको आँखा छलेर छतमा यात्रु चढाउँदै आएका छन् । ‘चौवास प्रहरी चौकी नजिक पुगेपछि चालकले छतका यात्रु ओराल्ने र कटेपछि पुनः चढाउने गरेका छन्’ एक यात्रुले बताए । यो रुटमा प्रा.लि.को सिन्डिकेट कायमै रहेकोले आवश्यक संख्यामा बस थप गर्न अटेर गर्दै आइरेको र यसबाट सीमित बसमा यात्रुको चाप बढ्न गएको स्थानीय बताउँछन् ।