कांग्रेसको चियापान, आफ्नै ताल आफ्नै सुर

काठमाण्डौं – हरेक बर्ष झैं यसपटक पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार तथा छठ पर्वको अवसरमा कोजाग्रत पुर्णिामाको दिन पार्टिको केन्द्रिय कार्यलय सानेपामा चियापान कार्यक्रमको आयोजना गर्यो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले अलि ओझेलमा परेको प्रमुख प्रतिपक्षी दलको चियापान कार्यक्रममा तरुण दलका अबैध महासचिव भुपेन्द्र जंग शाही कार्यक्रम अवधीभर कतै नदेखिए पनि आपसमा कुकुर बिरालो जस्तो सम्बन्ध भएका भनिएका तरुण दलका अध्यक्ष र महासचिव दुबै पक्षका कार्यकर्ताहरुको उपस्तिथि देखिएको थियो ।
कांग्रेस सभापति शेर बहादुर देउवा देखि वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै मुस्कुराउँदै अतिथिहरुको स्वागत गरेको दृश्य मात्रै होइन एउटै गुटबाट उप-सभापति भएपनी निकट सम्बन्ध नरहेको भनिएका निधि र गच्छदारको आपसी हेराई निकै रोचक देखिन्थ्यो ।
सधैं चर्चा खोजिरहने र विवाद मा परिरहनुका साथै अघिल्लो महाधिवेशनमा केन्द्रिय सदस्यमा पराजित भएका कांग्रेस युवा नेता रामहरि खतिवडा केन्द्रिय सदस्यको लाईनमा बसेर अतिथिको स्वागत गरेको दृश्य हेर्न लायक देखिन्थ्यो ।
सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी गरे ।
‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने ।

आफूसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको देउवाले बताए । ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु’ उनले भने ।
कांग्रेसको चियापानमा प्रचण्ड : अहिले दुई तिहाइको कुरा नगरौं
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसमा उत्साह देखेको बताएका छन् ।
आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा उनले कांग्रेसको निम्तोमा आउँदा सहयात्रीकोमा आएको जस्तो लागेको र कांग्रेसमा उत्साह देख्दा खुशी लागेको बताए । ‘चियापानमा आउँदा कांग्रेसमा उत्साह देखेँ । मलाई यहाँ आउँदा सहयात्रीकोमा आएजस्तो लाग्छ’ उनले भने ‘हेर्दै जाऔं राजनीतिले कस्तो कोल्टे फेर्छ ?’
दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गर्ने सत्तारुढ पार्टी र कांग्रेसबीच कस्तो सहयात्रा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘अहिलेको दुई तिहाइको कुरा नगरौं ।’
कांग्रेसको चियापानमा प्रधानमन्त्रीले भने: देउवासँग ४५ वर्षदेखिको सम्बन्ध हो
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् । आइतबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागी भएका उनले चाडपर्वमा आयोजना हुने यस्ता कार्यक्तमले सम्बन्ध अझै राम्रो बनाउने बताए ।
‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ’ उनले भने ।प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताए ।