चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाण्डौं – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो ।
हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताए । “मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ”, उनले भने।
महासङ्घले चीनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्नसमेत माग गरेको छ । अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर छ ।
चिनियाँ र नेपाली सांसदहरुको सहकार्य बृद्धि गर्ने राष्ट्रपति सीको प्रतिबद्धता
चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ पक्ष नेपाली सांसदहरुसँगको संवाद र सहकार्यलाई बृद्धि गर्दै दुई देशको सम्बन्धलाई संयुक्त रुपमा मजबुत बनाउन तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा राष्ट्रपति सीले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता र नेपाली जनताले चीनप्रति देखाएको आत्मीयता र आतिथ्यबाट आफू प्रभावित भएको जिकिर गरेका हुन् ।
सीले चीन र नेपालबीचको मित्रता हिमालयजस्तै उच्च र शानदार रहेको बताउँदै यसले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाएको उल्लेख गरे । भेटमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिसभाको तर्फबाट राष्ट्रपति सीलाई स्वागत गर्दै उनलाई स्वागत गर्न पाउनु नेपाली जनताको लागि गर्वको विषय भएको बताए ।
चिनियाँ राष्ट्रपति सीको कुशल नेतृत्वमा चीनले उल्लेखनीय उपलब्धिहरु हासिल गरेको बताउँदै तिमिल्सिनाले राष्ट्रको कायाकल्प गर्ने चिनियाँ सपना अवश्य पूरा हुने आशा व्यक्त गरे । उनले चीनले नेपाललाई गर्दै आएको दीर्घकालिन र निःस्वार्थ सहयोगका लागि धन्यवाद दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याए । उनले नेपालमा कुनै पनि शक्तिलाई चीन बिरोधी गतिविधि गर्न नदिने प्रतिबद्धता पनि जनाए ।
तिमिल्सिनाले नेपाल बेल्ट एण्ड रोड परियोजनामा सहभागी हुन पाउँद भाग्यमानी भएको बताउँदै यो परियोजना अझ ठूलो सफलता हात पार्ने विश्वास व्यक्त गरे । उनले नेपालको राष्ट्रय सभा चिनियाँ सांसदहरुसँगको सम्बन्धलाई विस्तार गर्दै नेपाल र चीनको मित्रतालाई अझ प्रबद्र्धन गर्न तयार रहेको जिकिर गरेका थिए ।
काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् ।
उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए ।
सुरुङ मार्ग पस्ने र बाहिरिने भनिएका टोखाको झोर र नुवाकोटको छहरेका स्थानीय खुशी व्यक्त गर्दै लामो समयदेखिको चर्चाले अब मूर्त रुप लिने आशा व्यक्त गरे । सुरुङ मार्गको प्रवेशद्वार टोखा नागरपालिका वडा नं १, भोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्ने वडाअध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
नुवाकोट हुँदै काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माण भए राजधानी काठमाडौँ छिट्टै पुग्नुका साथै व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवद्र्धन हुने नुवाकोट र रसुवावासीको विश्वास छ । यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मी र कृष्ण थापाले लेखेका छन् ।