नयाँ सभामुखका लागि नेकपाका २ विकल्प, दुवै विकल्पमा उपसभामुखले पनि राजीनामा दिने

काठमाण्डौं – यौन दुराचारको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएको छ। संसद सचिवालयले बुधबार महराले सभामुख पदबाट राजीनामा दिएको सूचना टाँसेपछि रिक्त सभामुख पदका लागि निर्वाचन गराउने औपचारिक बाटो खुलेको छ। अब सम्भवतः दशैंपछि नयाँ सभामुख निर्वाचनको प्रक्रिया सुरु हुनेछ। मंसिरदेखि संसदको हिउँदे अधिवेशन सुरु हुने भएकोले त्यति बेलासम्म सभामुख निर्वाचित हुनुपर्ने देखिएको छ।
सभामुखको राजीनामाले औपचारिकता पाएसँगै अबको नयाँ सभामुख को बन्ने भन्ने विषय चर्चामा छ। संसदमा नेकपाको बहुमत छ। अब सभामुखका जो उम्मेदवार भए पनि नेकपाका उम्मेदवारले जित्ने निश्चित छ। तर, अहिलेकै परिस्थितिमा नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउँदैन। संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन पाइँदैन। अहिलेकी उपसभामुख तुम्बाहाम्फे नेकपाकी हुन् त्यसैले अब सभामुख पनि नेकपाको हुन संविधानले रोक्छ। हुन त महरा पनि नेकपाकै हुन् तर निर्वाचित हुने बेला महरा तत्कालीन माओवादी र तुम्बाहाम्फे तत्कालीन एमालेबाट निर्वाचित सांसद भएकोले संवैधानिक प्रक्रिया पूरा भएको थियो। अब त्यो परिस्थिति छैन।
संसदमा कहिलेकाहीँ कुनै विधेयकहरु रुलिङ गरेरै पास गराउनुपर्ने हुन्छ। यसका लागि नेकपाले सभामुख पद आफैंसँग राख्न चाहन्छ। नेकपामा सभामुख पदका बलिया दावेदारको रुपमा सुवास नेम्वाङलाई लिइएको छ। नेकपा संसदीय दलका उपनेता नेम्वाङ यसबाहेक अन्य कुनै जिम्मेवारीमा छैनन्। नेकपाले उनलाई व्यवस्थापन गर्नुपर्ने परिस्थिति पनि भएकोले सम्भवतः उनै सभामुखको मुख्य दावेदार हुन सक्छन्। तर, संवैधानिक व्यवस्थाअनुसार अहिलेको परिस्थितिमा त्यो सम्भव छैन।
सभामुखमा उम्मेदवारी दिन संविधानले रोकेको स्थितिमा सभामुख पद आफैंसँग राख्न नेकपाले उपसभामुख पद अर्को सत्ता साझेदार दललाई दिएर संवैधानिक प्रक्रिया पूरा गरी सभामुख आफैसंँग राख्ने बाटो रोज्नेछ। यस्तो परिस्थितिमा सम्भवतः नेकपाले उपसभामुख पद सत्ता साझेदार समाजवादी पार्टीलाई दिन सक्छ।
नेकपाले उपसभामुख पद समाजवादीलाई वा अरु कसैलाई दिने परिस्थितिमा उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन भनिने सम्भावना बलियो छ। तुम्बाहाम्फेलाई कुनै मन्त्रालयमा मन्त्री बनाउने गरी राजीनामा गर्न लगाएर सभामुख र उपसभामुख दुवै पद रिक्त गराइ दुवै पदमा निर्वाचन गराइनेछ।
नेकपासँग योबाहेक अर्को विकल्प पनि छ– अहिलेकी उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउने । नेकपाले सभामुख पद कुनै हालतमा नछाड्ने देखिएकोले उपसभामुखलाई नै बढुवा गर्ने विकल्प रोज्ने सम्भावित दोस्रो विकल्प देखिएको हो । तर, यो विकल्पमा जाँदा पनि उपसभामुखले राजीनामा दिनैपर्ने हुन्छ । उपसभामुख पदमा बहाल रहेकी तुम्बाहाम्फेले सभामुखसमेत बनेर दुवै पद सम्हाल्न मिल्दैन त्यसैले उनी उपसभामुखबाट राजीनामा दिएरै सभामुखको निर्वाचनमा जानेछिन् । यस्तो परिस्थिति बनेमा नेकपाले उपसभामुखमा सम्भवतः सत्ता साझेदार समाजवादीकै उम्मेदवारलाई समर्थन गर्नेछ ।