
काठमाण्डौं – सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले लिखित उजुरी नपरेकाले मौखिक उजुरीकै आधारमा प्रारम्भिक अनुसन्धान भने चलिरहेको बताएका हुन् ।
‘लिखित जाहेरीका लागि प्रहरीले ताकेता गऱ्यो, अहिलेसम्म आएको छैन तर जानकारी आउनेबित्तिकै प्रहरीले आइतबार रातिदेखि नै अनुसन्धान गरिरहेको छ’, सुवेदीले भने । उनका अनुसार आइतबार राति ९ः०५ बजे प्रहरीको नियन्त्रण कक्षमा रहेको १०० नम्बरमा फोनमार्फत मौखिक जानकारी प्राप्त भएको थियो । सो जानकारीका आधारमा सोही रातिदेखि नै घटनाबारे अनुसन्धान भइरहेको र घटनामा जोडिएका सबै वस्तु सुरक्षित रहेको प्रहरीले जनाएको छ । परिसरका प्रवक्ता होविन्द्र बोगटीलाई उद्धृत गर्दै राससले जनाएअनुसार प्रारम्भिक अनुसन्धान भइरहे पनि लिखित उजुरी नआएसम्म अन्य प्रक्रिया अगाडि बढ्न समस्या हुनेछ ।
गत सोमबार विभिन्न सञ्चारमाध्यममा महराले आफ्नो कोठामै आएर दुर्व्यवहार गरेको जनाउँदै ती महिलाको नाम जोडेर समाचार प्रकाशन भएको थियो । दुर्व्यवहार गरिएको आरोप लगाउने ती महिला कर्मचारीले मंगलबार भने आफैँले घटनाको खण्डन गर्दै आफूले डिप्रेसनको औषधि खाइरहेको र आवेगमा के बोलेँ आफूलाई नै पत्तो नभएको भनी बताएकी छन् । रिसको झोँकमा सभामुख महरा परेको उल्लेख उनले आफ्ना बाबु समानको मान्छेसँगको सम्बन्धलाई अनावश्यक रूपमा जोडेको र उचालेको जिकिर गरेकी छन् ।