
काठमाण्डौं – सभामुख कृष्णबहादुर महराको समाचारलाई विश्वभरका संचारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।
छिमेकी मुलुक भारतका संचारमाध्यमदेखि द न्यूयोर्क टाइम्स, याहु, द वासिङटन पोस्टलगायतले समेत समाचार सम्प्रेषण गरेका छन् । अधिकांश मिडियाले ‘नेपालका सभामुखमाथि बलात्कारको आरोप’ शिर्षक राखेका छन् ।
द न्यूयोर्क टाइम्सले मादक पदार्थ सेवन गरेर महिलाको कोठामै गएर बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ । त्यस्तै, द वासिङटन पोस्टले सभामुख महरालाई बलात्कार आरोप शीषर्कमा समाचार प्रकाशन गरेको छ । उसले नेपालको ठूलो दलको शीर्ष नेता एवम् संघीय संसद्का सभामुख कृष्णबहादुर महराले सरकारी जागिरे एक महिलामाथि बलात्कारको प्रयास गरेको भन्दै समाचार लेखेको छ ।
त्यस्तै सनहेराल्ड डटकमले महिलाको श्रीमान घर नभएको बेला महरा पुगेको र जबरजस्ती करणीको प्रयास गरेको उल्लेख गरेको छ । एएनआई न्यूज डट इनले संघीय संसद्को सचिवालयमा काम गर्ने महिलालाई बलात्कारको प्रयास गरेको उल्लेख गरेको छ ।
त्यस्तै सिटि न्यूज, द न्यूज ट्रिब्युन, न्यूज याहू, आउट लुक, एसियन एज लगायतका मिडियाले समाचार लेखेका छन्।





