चीनमा सैन्य परेड, हङकङमा प्रदर्शन

एजेन्सी – चीनमा कम्युनिष्ट शासन सुरु भएको ७० वर्ष पूरा भएको अवसरमा बेइजिङ्गमा भव्य सैन्य परेड भएको छ। चीन सन् १९४९ को अक्टोबर १ मा पिपुल्स रिपब्लिक अफ चीन (पिआरसी) बनेको थियो ।
कम्युनिष्ट पार्टीले गृह युद्ध जितेपछि चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले अक्टोबर १, १९४९ मा पिआरसीको घोषणा गरेका थिए। राष्ट्रिय दिवसका रुपमा मनाइने आधुनिक चीनको स्थापना दिवसका अवसरमा मंगलबार भव्य कार्यक्रम भएको हो ।

धेरैको ज्यान गएको गृहयुद्धपछि स्थापना भएको कम्युनिष्ट शासनयुक्त आधुनिक चीनले त्यसयता विकासको मार्गमा तीव्र गतिले प्रगति गरेको छ। तर चीन विश्वका ती सीमित देशमा पर्छ जहाँ पहुँच विस्तृत रुपमा नियन्त्रित छ ।

राष्ट्रिय दिवसका अवसरमा मंगलबार राजधानी बेइजिङ्गमा हालसम्मकै ठूलो सैन्य परेड भयो। चीनको राजधानी बेइजिङ्गको तिएनान्मेन स्क्वायरमा सैन्य परेड भएको हो। सो परेडमा १५ हजार सैनिक सहभागी भएका छन्। त्यसमा चीनका नयाँ सैन्य प्रविधिको प्रदर्शन भएको छ।
तर बेइजिङ्गमा सैन्य परेड भइरहँदा हङकङमा भने प्रदर्शन भएको छ । हङकङमा चीनको हस्तक्षेप विरुद्ध लामो समयदेखि प्रदर्शन हुँदै आएको छ ।
चीनले हङकङको राजनीति र भौगोलिक क्षेत्रमा बढाउँदै लगेको नियन्त्रणको विरोधमा मंगलबार पनि प्रदर्शन भएको हो। सो प्रदर्शनको क्रममा झडप भएको छ। हङकङमा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि प्रदर्शन भएको हो ।
