काठमाण्डौं – वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरिदैँछ । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइदै छ ।

देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्नेहरुको भीडभाड छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकामा रहेका काठमाडौंको दक्षिणकाली, भद्रकाली, मैतीदेवी, नक्साल भगवती तथा देशभरका शक्ति पीठहरुमा नवरात्रभर विशेष पूजा आराधना गरिन्छ ।

असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने बडादशैंमा नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन छ ।