सभामुख महरामाथि सहकर्मीबाटै बलात्कार आरोप, सुनियोजित र योजनाबद्ध षड्यन्त्र: महरा

काठमाण्डौं – सभामुख कृष्णबहादुर महराले आफूमाथि सहकर्मी कर्मचारीले लगाएको भनिएको बलात्कारको आरोप सुनियोजित र योजनाबद्ध षड्यन्त्रको भाग भएको उल्लेख गर्दै त्यसमा कुनै पनि सत्यता नभएको दाबी गरेका छन्। सभामुख महरामाथि बलात्कारको गम्भीर आरोप लागेपछि उनका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार अबेर राति यसबारे खण्डन जारी गरेका हुन्।
सभामुख महराले केही अनलाइनहरुमा आफूबिरुद्ध बलात्कारको आरोप आएपछि यसबारे प्रेस सल्लाहकारमार्फत प्रतिक्रिया जारी गरेका हुन्।
‘यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु,’ मल्लले खण्डनपत्रमा उल्लेख गरेका छन्।
समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिँदैन’ भनी खण्डनपत्रमा उल्लेख छ।
महरा असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक अन्यत्र कहीँ नगएको पनि मल्लले उल्लेख गरेका छन्। ‘समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैँसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु,’ मल्लले लेखेका छन्।
खण्डनपत्रका अनुसार संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो। ‘तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए,’ मल्लको भनाइ छ।
सोही असन्तुष्टिलाई लिएर सभामुखबारे ‘पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएको’ भन्दै सभामुख निकै दुखित र आश्चर्यचकित भएको उक्त पत्रमा छ। ‘यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ, यो जहाँबाट भयो/भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन,’ पत्रमा छ। सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न खोजिएको आरोप पनि पत्रमा लगाइएको छ।