काठमाण्डौं – द्वन्द्वका दुवै पक्षका पीडितलाई न्याय दिने प्रक्रिया ठानिएको संक्रमणकालीन न्याय निरुपण सम्बन्धी कार्यक्रममा शुरुमै छोटकरी मन्तव्य राखेर स्थलबाटै बाहिरिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यक्रममा उपस्थित द्वन्द्वपीडितले गम्भीर प्रश्न गरे ।

राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंमा द्वन्द्वकालीन न्याय नकिासबारे राखेको बिहिबारको कार्यक्रममा शुरै धारणा राखेर सभापति देउवा हिँडेपछि पीडित आक्रोशित बनेका हुन् । देउवाले धारणा राख्ने क्रममा संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले चाँडै काम थाल्नुपर्ने बताउँदै न्याय दिनुपहिले द्वन्द्वका दुवै पक्षका कुरा सुन्नुपर्ने बताएका छन् । द्वन्द्वका तत्कालीन एउटा पक्ष माओवादी र सरकारका मान्छेहरु यसमा जिम्मेवार हुनुपर्ने पक्षमा आफू रहेको विचार उनले राखे ।

मानवअधिकार अधिकार आयोगको अधिकार क्षेत्र कटौती हुने गरी ल्याइन लागिएको विधेयकको आफू विपक्ष रहेको र आयोगको निष्पक्ष तथा स्वतन्त्र संवैधानिक निकाय भएको अनुभूत राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै देखाउन सक्नुपर्नेमा उनको जोड थियो ।

द्वन्द्वका बेला देउवा सरकारका प्रधानमन्त्री थिए । उनैलाई आफ्ना कुरा सुनाउन जम्मा भएका पीडितहरु उनी हिँडिदिएपछि आक्रोशित बनेका हुन् । त्यो बेलासम्म द्वन्द्वका एउटा पक्ष तत्कालीन माओवादीका नेतृत्व प्रचण्ड आइपुगेका थिएनन् । तैपनि उनी आयोजकको आग्रह टारेर कार्यक्रमस्थलबाट बाहिरिए । उनले भाषणको अन्तिमतिर पीडितको कुरा सुन्ने इच्छा हुँदाहुँदै आफुसँग समय नभएको बताउने बित्तिकै दर्शकदीर्घबाट हंगामा शुरु भयो । सिटबाट उठेर सयौं पीडितले देउवालाई ‘हाम्रा कुरा नसुन्ने भएपछि कार्यक्रममा किन आउनुभयो ?’ भनेर प्रश्न गरे । अक्मकिँदै उनी हलबाट चुपचाप बाहिरिए ।

‘देशमा यस्ता नेता भएकै कारण हिंसा र द्वन्द्वका घटना भइरहेको’ आक्रोशपूर्ण टिप्पणी गरिए । थुप्रै महिलाले उठेर देउवालाई जसरी पनि कार्यक्रममा फिर्ता ल्याउन माग आयोजकसँग माग गरे । कतिपयले आयोजकले नै ‘भगाएको’ समेत भने । देउवाको व्यवहारले चोट पुर्याएको भन्दै पीडितले निन्दा समेत गरेका थिए । कार्यक्रम स्थगित गर्नुपर्ने आवाज समेत हलमा उठ्यो ।

देउवा बाहिरिएको करिब एक घण्टापछि प्रचण्ड आइपुगे । प्रचण्डले द्वन्द्वकाल राम्रा नराम्रा सबै परिणामको जिम्मा आफूले लिने विचार राखे । तर उनी पनि पीडितको प्रश्नको मारबाट बचेनन् । पीडितबाट ‘मेरो श्रीमान् कहाँ छन् ?, मेरो छोरा खोई ? हामीले न्याय कहिले पाउँछ ? जस्ता गम्भीर प्रश्न प्रचण्डमाथि ओइरिए । त्यसपछि उनले द्वन्द्वपीडितलाई न्याय दिने, बेपत्ताको खोजी गर्ने विषय ढिला भएकोमा क्षमयाचना गर्न गरेका हुन् । न्यायका लागि आफू जहाँ पनि खडा हुन तयार रहेको उनले बताए ।

देउवाको व्यवहारलाई भने धेरैले गलत भएको भन्दै आलोचना गरेका छन् । ‘देउवा जतिको नेताले त्यसो नगर्दा राम्रो हुन्थ्यो’ कार्यक्रमका वक्ता लेनिन विष्टले भने ।