सार्कलाई सक्रिय बनाउन परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रस्ताव, भारत र पाकिस्तानको कटुता छरपस्ट

न्यूयोर्क – नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने धारणा राखेको छ। सार्क मन्त्रिपरिषद्को बिहीबार न्यूयोर्कमा बसेको अनौपचारिक बैठकमा नेपालले संस्थालाई सक्रिय बनाउने प्रस्ताव गरेको हो ।
सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो ।
उन्नाइसौँ सार्क शिखर सम्मेलन हुन नसक्दा क्षेत्रीय सहयोगको भावनामा रुकावट आएको तथा केही मन्त्रिस्तरीय बैठक, कार्यशाला र तालीमबाहेक उल्लेख्य गति सार्कले लिन नसकेको अभिव्यक्ति पनि नेपालले बैठकमा प्रस्तुत गरेको छ ।
‘सार्कको शिखर बैठक हुन सकेको छैन, सदस्य राष्ट्रले यस सम्बन्धमा उपयुक्त निर्णय नगरि नहुने भएको छ। हाम्रो सङ्गठन अनन्तकालसम्म निष्क्रिय रहिरह्यो भने त्यो विचित्र हुनेछ’, बैठकका अध्यक्ष परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ।
सम्भावना र अवसरले परिपूर्ण दक्षिण एशियाको सामाजिक–आर्थिक भूदृश्य रुपान्तरणका लागि क्षेत्रीयस्तरमा प्रभावकारी सहयोग अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए। उनले गरिबी, असमानता, अल्पविकास, जलवायु परिवर्तन र प्राकृतिक विपत्तिजस्ता अनेकौँ चुनौतीले गाँजेको यथार्थ सुनाउँदै तिनको प्रभावकारी सम्बोधनका निम्ति सुदृढ सहयोग अत्यावश्यक भएको उल्लेख गरे ।

परराष्ट्रमन्त्रीले भने, ‘चौँतीस वर्षअघि हाम्रा नेताले शान्त, समृद्ध र सुखी दक्षिण एशियाको परिकल्पना गरेर त्यो लक्ष्यमा पुग्न सार्क स्थापना गरेका हुन्, त्यो परिकल्पना साकार पार्न तथा हाम्रो साझा लाभ र हितका लागि सार्कका कार्यक्रम एवं गतिविधिलाई कार्यान्वयन गर्नुको विकल्प छैन ।’
एकीकृत दक्षिण एशिया, आर्थिक परस्पर निर्भरता, एशियाली आर्थिक सङ्घ, शान्ति सुरक्षा र यो क्षेत्रको समृद्धि प्राप्तिका लागि सुदृढ एवं विस्तारित सहयोग, आपसी विश्वास र मैत्री अपरिहार्य भएको मन्त्री ज्ञवालीले बताए ।
सार्कको १४औँ महासचिवको नियुक्ति तथा आगामी फागुन १८ गतेदेखि नयाँ महासचिवको पदबहालीबारे पनि बैठकमा विचारविमर्श गरिएको थियो। बैठकले श्रीलङ्काली महासचिवलाई अनुमोदन पनि गरेको छ ।
बैठकमा श्रीलङ्का र बङ्गलादेशबाहेक सबै सदस्य देशका परराष्ट्रमन्त्री सहभागी थिए। कार्य व्यस्तताका कारण भारत र पाकिस्तानका विदेशमन्त्री भने बैठकमा एकसाथ सहभागी भएनन् ।
यसैबीच सञ्चारकर्मीहरूसँग छोटो कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले १९औँ सार्क शिखर सम्मेलन जुनसुकै समयमा आयोजना गर्न आफ्नो देश तयार रहेको जानकारी दिए ।
उनले सबै सदस्य देशलाई मान्य र उपयुक्त हुने समयमा कूटनीतिक माध्यमबाट सम्मेलनको मिति प्रस्ताव गरिने बताए । त्यसैगरी मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदले सार्कलाई गति दिनुपर्नेमा जोड दिँदै क्षेत्रीय एकताको भावनालाई मर्न दिनु हुँदैन भने ।
यस्तै मन्त्री ज्ञवालीले सार्कप्रति सबै सदस्य देशको सकारात्मक धारणा रहेको, सबैले समुन्नत र एकताबद्ध दक्षिण एशियाका पक्षमा अभिमत जाहेर गरेकाे जानकारी दिए ।
उनले दक्षिण एशियाको शान्ति, समृद्धि र स्थायित्वको पक्षमा नेपाल रहेको र विवादहरूको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिए। वार्ता र संवादको माध्यमबाटै हरेक समस्याको निकास खोजिनुपर्ने नेपालको मान्यता रहेको मन्त्री ज्ञवालीले बताए ।
कटुता छरपस्ट
बैठकमा भारत र पाकिस्तानको कटुता छरपस्ट भएको थियो । बैठकमा पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरेशीले भारतीय विदेश मन्त्री एस जयशंकरलाई बहिष्कार गरेका थिए ।
भारतीय विदेशमन्त्री जयशंकर बाहिरिएको केही मिनेटपछि मात्रै कुरेशी प्रवेश गरेका थिए। बैठकमा सबै मन्त्रीहरु उपस्थित भइसेकेका थिए तर पाकिस्तानी विदेशमन्त्री कुरेसी झण्डै आधा घण्टापछि प्रवेश गरेका थिए ।
जयशंकरले आफ्नो कुरा राखेर बैठकबाट निस्किएको केही मिनेटपछि मात्रै कुरेशी सहभागी भएका थिए । बैठकपछि कुरेसीले भारतीय पक्षसँग आफूसँगै बस्न नसक्ने बताएका थिए ।