काठमाण्डौं मुलुकमा सडकको दुरावस्था र जोखिमले सीमा नाघेको विषय पुरानै हो । राज्यले बेवास्ता गरेको पनि नयाँ होइन । यही कारण नागरिकले ज्यान गुमाउन विवश छन् ।

राजधानी काठमाडौं छिर्ने मुख्य नाकामा पर्छ धादिङ नौविसे सडक । यो सडक हुँदै दैनिक हजारौं सवारी साधन भित्रिने र बाहिरिने गर्छन् । एम्बुलेन्स, दमकल, सुरक्षा सेवा जस्ता अति जरुरी र संवेदनशील सवारीका लागि पनि यही सडक हो ।

सडक साँघुरा र सवारी अत्यधिक चापका कारण थोरै त्रुटी वा साना घटनामा पनि यो सडकमा जाम हुँदै आएको छ । सोही सडकको जाममा परेर थुप्रै नागरिकले यसअघि एम्बुलेन्सभित्रै ज्यान गुमाएको अप्रिय घटनाका समाचार नआएका होइनन् । अझ यात्रु बसभित्रै पनि बिरामीले ज्यान गुमाएको घटना पुनः अगाडि आएको छ ।

मृगौला रोगी रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साहले सडक जामका कारण समयमै उपचार पाउन नसक्दा ज्यान गुमाएका छन् । उनी ना ७ ख ५३६४ नम्बरको बस चढाएर थप उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको धादिङको थाक्रे गाउँपालिका–२, हुलाक डाँडास्थित पृथ्वीराजमार्गमा बसभित्र मृत्यु भएको हो । सो घटनाको पुष्टी धादिङ प्रहरीले गरेको छ ।

विपन्न परिवारका सदस्य साहलाई दुवै मृगौलाले काम गर्न छाडेपछि डायलसिसका लागि सार्वजनिक यातायातमार्फत काठमाडौं ल्याउने क्रममा लामो समय जाममा फसेका कारण बसभित्रै मृत्यु पुगेको हो । बस १० घण्टा सडक जाममा परेको थियो । अहिले साहको शव त्यहीँबाटै रौतहट फिर्ता लैजाने तयारी भइरहेको बताइन्छ ।

यही सडक भएर काठमाडौं उपत्यकाबाट यसै हप्ता लाखौं नागरिक दशैं मनाउन बाहिर जिल्लामा फर्कदैछन् । यस घटनाले नागरिकको जीवनमाथि सरकारको उदासिनता कुन हदसम्म छ ? भन्ने उजागर हुन पुगेको छ ।

योपटक सडक जाम मालवाहक ट्रक दुई दिनदेखि बिग्रेर सडकबिचमा फसेका कारण भएको थियो । बिहिबार दिउँसो नै मर्मत गरेर सडक खुलाइने ट्राफिकले जनाएपनि बिहानसम्म खुल्न नसक्दा सयौं यात्रु अलपत्र पर्ने र बिरामीको मृत्यु सम्मन पुगेको हो ।

प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले एकपटक काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रममा वर्ष दिनमै पोखरा जाने यात्रुको टाउको गाडीभित्र ठोक्किन बन्द हुने र सरररर हुँइकिन पाइने बताएका थिए । नौबिसेकै सडक होा पोखरा पुग्ने ।

सरकारसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक मात्र हेर्न सडक विभाग छन् । तर ट्राफिक जामकै कारण नागरिकले बसभित्रै प्राण त्याग गर्नुपर्ने परिस्थितिबाट छुटकारा पाउन सकेका छैनन् ।